Uncategorized

अमेरिकाले लगाएको प्रतिबन्ध नमान्ने इरानी राष्ट्रपति रुहानीको भनाइ

१९ कात्तिक, काठमाडौं । इरानी राष्ट्रपति हसन रुहानीले इरानी अर्थतन्त्रको मुख्य आधारलाई लक्षित गरी अमेरिकाले लगाएको प्रतिबन्धको कडा प्रतिवाद गर्ने बताएका छन् ।

ट्रम्प प्रशासनले सन् २०१५ मा आणविक सम्झौता भएपछि खारेज भएको अमेरिकी प्रतिबन्धलाई फेरि लागू गरेको छ ।

अमेरिकाले लगाएको प्रतिबन्धले इरानको तेल निर्यात, सामुन्दि्रक कारोबार र बैंकहरुलाई असर पर्छ । यसले तेलमा धनी इरानलाई अरु देशहरुसँग व्यापार गर्न मुस्किल बनाउँछ ।

तर, रुहानीले ट्रम्पको कदमविरुद्ध आक्रोश पोख्दै इरानले तेल बेच्न नछोड्ने बताएका छन् । आर्थिक अधिकारीहरुसँगको बैठकमा उनले भने ‘हामी गर्वको साथ प्रतिबन्धहरुलाई तोड्ने छौं ।’

अहिले पनि इरानको परमाणु गतिविधिलाई रोक्नको लागि डिजाइन गरिएको सम्झौताको पक्षमा रहेका युरोपेली देशहहरुले अमेरिकाले व्यापारमा लगाएको प्रतिबन्धलाई बाईपास गर्न इरानलाई मद्दत गर्ने बताएका छन् । तर, यो सफल हुनेमा आशंका छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त सम्झौतालाई अहिलेसम्मकै खराब सम्झौताको रुपमा चित्रित गर्दै आफूहरु उक्त सम्झौताबाट पछाडि हटेको बताएका छन् ।

ट्रम्प प्रशासनले आफूहरुले तेहरानको साइबर आक्रमण, ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण र मध्यपूर्वका आतंकवादी समूहहरुलाई सहयोग गर्ने जस्ता ‘दुष्ट’ क्रियाकलाप रोक्न चाहेको बताउँदै आएको छ ।

ट्रम्पले इरानमाथि आफ्नो ‘अधिकतम दबाब दिने’ रणनीतिले काम गर्दै आएको बताउँदै आएका छन् । टेनेसी राज्यमा भएको एक र्यालीलाई सम्बोधन गर्दै उनले भने, ‘इरानले पुरै मध्यपूर्वलाई सिध्याउन आँटेको थियो तर अहिले उनीहरु आफू बाँच्नमात्रै चाहन्छन् ।’

अमेरिकाले अहिले लगाएको प्रतिबन्ध धेरै महत्वपू्र्ण रहेको विश्लेषकहरुले बताएका छन् । ७०० भन्दा धेरै व्यक्तिहरु, उनीहरुका सम्पत्ति, जहाज र विमान प्रतिबन्धको सूचीमा रहेका छन् । जसमा मुख्य बैंकहरु, तेल निर्यातकर्ताहरु र सिपिङ कम्पनी पनि रहेका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले इरानको तेल व्यापार शुन्यमा झार्ने आफ्नो उद्देश्य भएको बताएका छन् ।

बीबीसीबाट

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *