Uncategorized

पशुपतिका गँजडी लुक्ने झाडी फाँडेर ‘आध्यात्मिक’ उद्यान

१९ कात्तिक, काठमाडौं । पशुपतिको वनकाली क्षेत्र, केही समयअघिसम्म गाँजासहित लागूऔषध प्रयोग गर्नेहरुको अखडा थियो । पशुपति क्षेत्रमा कार्यरत सुरक्षाकर्मीका अनुसार यो क्षेत्रमा मौलाएको अनियन्त्रित झाडीले पवित्र तीर्थस्थल नजिकको क्षेत्र नै बदनाम थियो ।

अहिले यो स्थानको परिचय नै फेरिएको छ, यहाँ राधा माधव समिति (राधे–राधे)ले सुन्दर बर्गैँचा निर्माण गरेको छ । यो बगैँचा साँच्चिकै लोभलाग्दो स्वरुपमा बनेको छ ।

बगैँचालाई प्राकृतिक रुपमा मात्रै हैन, आध्यात्मिक तवरबाट सजाइएको छ । झाडी मासेर बनाइएको यो बगैँचामा रुख विरुवालाई जोगाएर हुर्काउन बाँदरलाईसम्म प्रवेश दिइएको छैन । यसका लागि छुट्टै कामदार खटिएका छन् । हरेक विरुवालाई माया र संरक्षण गरेर हुर्काइँदैछ ।

दुबोले ढपक्कै ढाकिएको बगैँचामा विभिन्न भागलाई अनेक स्वरुप र मूर्तिहरुबाट सजाइएको छ । पशुपति क्षेत्रको धार्मिक तथा आध्यात्मिक पक्षलाई केन्द्रमा राखेर बनेको बगैँचामा धेरै शिवलिंगहरु लहरमा राखिएका छन् । चौतारा पनि छन् । चौतारामा हनुमानको मूर्ति पनि छ । सरसफाइलाई निकै ध्यान दिइएको छ ।

खोल्सा क्षेत्रमा कृत्रिम खोलाको स्वरुप दिएर प्रतिकात्मक रहने गरी झोलुंगे पुल पनि बनाइएको छ । पार्कभित्रै रहेको पानीको मुहानलाई पनि संरक्षण गरिएको छ ।

चराका चिरविर–चिरविर आवाजले पार्कभित्र शान्तिको माहोल छ । पार्कको जुनसुकै भागमा बस्दा पनि आफू ‘धार्मिक क्षेत्रभित्र छु’ भन्ने महसुस हुन्छ । किनभने यहाँ विभिन्न आध्यात्मिक स्वरुपका संरचनाहरु बनाइएको छ, जसले पार्कलाई प्रकृतिभन्दा बढी आध्यात्मतिर केन्द्रित गर्छ ।

धर्म, संस्कृति र आध्यात्मसँग फ्युजन गरेर बनेको छ यो बगैँचा । यहाँ कमलदेखि सयपत्रीसम्म विभिन्न फूलहरु फुलेका छन् ।

पशुपति क्षेत्र विकास कोषले यही बगैँचाको उत्तर भागमा अर्को बगैँचा पनि तयार गरेको छ । यो बगैँचालाई नाम दिइएको छ, ‘देव उद्यान’ । यो बगैँचामा पनि कम्ता सुन्दर र शान्त छैन । विभिन्न प्रजातिका वनस्पति र फूलले ढाकिएको यो बगैँचामा सुस्ताउनु पनि उत्तिकै मज्जाको अनुभव हुनेछ ।

आराध्यदेव पशुपतिनाथको समीपमा रहेका यी बगैँचा शास्त्रमा वर्णन गरिएका तपोभूमिजस्तै लाग्छन् । देव उद्यानमा पनि आधुनिक प्रविधि र सिल्पको प्रयोगबाट गार्डेनिङ गरिएको छ ।

यहाँ बस्ने स्थानहरुमा प्राकृतिक काठमा मुडादेखि कृत्रिम प्रकारका विभिन्न सामग्रीको प्रयोग गरिएका छन् ।

देव उद्यान मात्रै हैन, अहिले क्षेत्र विकास कोषले देव उद्यानभन्दा माथि (चक्रपथको मूल सडक पार गरेपछि) अर्को उद्यानको विकास गरेको छ, भण्डारखाल उद्यान ।

यो उद्यानमा फूल र दुबो भने सजाइएको छैन । जंगललाई प्राकृतिक स्वरुपमै छाडिएको छ । बीच–बीचमा हिँड्नका लागि सजिला र फराकिला बाटाहरु बनाइएको छ । जंगललाई पुरानै अवस्थामा छाडेर यसलाई प्राकृतिक बनोटलाई कायमै राखिएको छ । त्यसैले यहाँ बिहान मर्निङ वाक गर्नेदेखि दिउँसो समय बिताउन आउनेहरुको जमात ठूलो हुन्छ ।

यो स्थान पनि पहिले विभिन्न अनैतिक तथा आपराधिक गतिविधि गर्नेहरुको अखडा थियो । तर, अहिले यसलाई सरसफाई गरेर जंगलभित्र शान्त वातावरणमा भुल्न सकिने गरी व्यवस्थापन गरिएको छ ।

कोषका अनुसार अब केही समयभित्रै रिंगरोडमा कलात्मक आकाशे पुल निर्माण गरेर देवउद्यान र भण्डारखाल बगैँचालाई जोडिनेछ । त्यसलगत्तै सबै पार्कहरु सर्वसाधारणका लागि खुला गरिनेछन् ।

कोषका सदस्य सचिव प्रदीप ढकाल पार्कहरुको व्यवस्थानका लागि न्युनतम शुल्क लिएर उद्यानहरु सर्वसाधारणका लागि खोलिने बताउँछन् । यी पार्कहरुमा घुम्न आउनेका लागि खाजाका लागि साकाहारी भोजनसहितको व्यवस्थापन पनि गरेर पशुपति क्षेत्रमा स्वच्छ वातारणमा रमाउने अवसर सबैलाई प्रदान गर्ने उनको भनाइ छ ।

उनले पशुपति क्षेत्रमा हरियाली कायम राख्न सक्दो प्रयास हुने बताए । तिलगंगा अस्पतालभन्दा अघिको वस्ती हटाउन मुआब्जा वितरण भइसकेको र त्यहाँ पनि वस्ती हटाएर त्यस्तैपार्क निर्माणको योजना बनाइएको छ ।

पशुपति क्षेत्रलाई कंक्रिटको जंगलबाट मुक्ति दिनुपर्ने भन्दै उनले सम्भाब्य सबै खाली स्थानमा वृक्षारोपण गरेर शास्त्रहरुमा वर्णन गरिएजस्तै पशुपति क्षेत्रलाई विशुद्ध आध्यात्मिक वातावरण भएको क्षेत्रको रुपमा विकास गर्ने योजना बनाइएको छ ।

ढकालले पशुपति क्षेत्रको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा रहेको भन्दै गुरुयोजनाभित्र पनि पशुपतिका खुला स्थानमा पार्क निर्माण र हरियाली प्रवद्र्धनमा जोड दिइएको बताए ।

हरियालीयुक्त क्षेत्रलाई एयरपोर्टसम्मै विस्तार गर्ने र मृगस्थली, सूर्यघाट लगायतका क्षेत्रमा पनि ब्यापक रुपमा वृक्षारोपण गरेर विरुवाका हुर्काउने गरी योजना बनाई काम हुनेछ ।

कैलाशको डाँडाको बीच भागलाई पनि खुला चौरका रुपमा नै छानेर वरपर हरियालीसहित परिक्रम पथ निर्माण गर्ने योजना पनि छ ।

‘ऋषिमुनिहरुले कल्पना गरेको जस्तो क्षेत्र नै बनाउने हो,’ ढकाल भन्छन्, ‘पशुपतिको जीवन्त सभ्यतालाई पुरानै अवस्थामा फर्काउन हामी प्रयास गर्दैछौं ।’


तस्वीरहरूः शंकर गिरी

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *