१८ कात्तिक, कैलाली । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको बुबा यज्ञराज पन्तले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने घोषणा गरेका छन् ।
आइतबार भीमदत्त नगरपालिका २ स्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले एक हप्तामा पनि हत्यारा पत्ता नलागे धर्नामा बस्ने चेतावनी दिएका हुन् । निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
हत्या भएको तीन महिना भन्दा बढी भइसके पनि त्यसमा संलग्नको खोजी गर्न सरकारले चासो नदेखाएको उनको आरोप छ ।
घटनाको छानविनका लागि विभिन्न टोली गठन गरे पनि घटनामा सम्लग्नको पहिचान गर्न नसकेको तथा दोषीलाई कारवाही गर्न नसकेको भन्दै सरकारले घटनालाई थामथुम पार्न खोजेको निर्मलाका बुवाले आरोप लगाए ।
उनले अझै पनि सरकारले न्याय दिएन भने आमरण अनसन नै बस्ने चेतावनी समेत दिए ।



