Uncategorized

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

१८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद्मरत्न तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनको अग्रज भएको बताएका छन् ।

तुलाधरको निधनपछि श्रद्धाञ्जली दिन नर्भिक अस्पताल पुगेका उनले तुलाधरले मानव अधकिार र साँस्कृतिक आन्दोलन संवर्द्धनमा ऐतिहासिक भूमिका निर्वाह गरेको बताए ।

तुलाधरकै भूमिका कारण शान्ति प्रक्रियाको वातावरण बनेको पनि प्रचण्डले बताए । ‘उहाँ शान्ति प्रक्रियाको एउटा यस्तो फेसिलिटेटर हुनुहुन्थ्यो जसले नयाँ वातावरण बनाउन ऐतिहासिक भूमिका खेल्नुभयो’ उनले भने ।

तुलाधरको मष्तिस्कघातको कारण आइतबार नर्भिक अस्पतालमा निधन भएको छ । उनलाई श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेताहरु अस्पताल पुगेका छन् । नेकपाका अध्यक्ष प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पूर्वसभामुख दमननाथ ढुंगाना, शिक्षामन्त्री गिरिराजमणि पोखरेल नर्भिक अस्पताल पुगेका थिए ।

पूर्वसभामुख दमननाथ ढुंगानाले तुलाधर समन्वयवादी मान्छे भएको बताए । ‘उहाँ समन्वयवादी मान्छे हो, मत मतान्तर हुन्छ, तर मिलेर देश चलाउनुपर्छ भन्नुहुन्थ्यो’ ढुंगानाले भने ‘अंग्रेजीमा भन्छन् नि परफेक्ट जेन्टलम्यान, उहाँ एकदम भलादमी मान्छे हो ।’

तुलाधर आफ्नो भाषा, संस्कृतिको सम्मान होस् भन्ने चाहना राख्ने व्यक्ति भएको पनि उनले बताए । ‘काठमाडौंका लागि त उहाँ धरोहर नै हो’ ढुंगानाले भने ।

तुलाधरले २०४६ सालमा वामपन्थी र लोकतन्त्रवादी कांग्रेसलाई एकै ठाउँमा ल्याउन भूमिका निर्वाह गरेको र सशस्त्र युद्धका क्रममा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि उनको महत्वपूर्ण भूमिका रहेको ढुंगानाले सम्झिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *