Uncategorized

नेविसंघले फेरि महाधिवेशन गर्न सकेन, गच्छदार समूहलाई देखाउँदै उम्किने प्रयास

१८ कात्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को वर्तमान कार्यसमितिको थपिएको तीन महिने म्याद आगामी मंसिर २ मा सकिँदैछ ।

वर्तमान कार्यसमितिको म्याद भदौ २ गते नै सकिए पनि तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिँदै आगामी मंसिर २ गतेसम्म म्याद थपिएको थियो । त्यसैले दशैं-तिहारको बीचमा भएपनि कात्तिक १६, १७ र १८ गतेदेखि महाधिवेशन गर्ने निर्णय नेविसंघले गर्‍यो ।

तर, कात्तिक १६ को डेटलाइन पनि गुज्रिसकेको छ । अब के होला ? वर्तमान कार्यसमिति भंग होला वा अरु कुनै निकास निस्किएला ? अन्यौल कायमै छ ।

दुई विकल्प

नेविसंघका एक नेताका अनुसार पूर्वनिर्धारित समयमा महाधिवेशन हुन नसकेपछि अब दुई विकल्प छन् । पहिलो विकल्प हो, तदर्थ समिति बनाएर ६ महिनाभित्र महाधिवेशन गराउन म्यान्डेड दिने ।

दोस्रो विकल्प हो, महासमितिमा प्रस्ताव लगेर ६ महिना वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिएर अधिवेशन गराउन निर्देशन दिने ।

तर, नेविसंघको गुटगत लडाइँलाई हेर्दा जुनसुकै विकल्प दिइए पनि महाधिवेशन निर्धारित समयमा हुने छाँटकाँट देखिँदैन । नेविसंघका एक पदाधिकारीले भने, ‘यस्तै तालले यही कमिटीलाई ६ महिना होइन, दुई वर्षसम्म म्याद दिए पनि महाधिवेशन हुने सम्भावना देखिँदैन ।’

अहिले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरिएको छ । मुख्य विवादको चुरो नै यही हो ।






यो पनि पढ्नुहोस
कांग्रेस बैठकः रामचन्द्र र कृष्ण सिटौलासहित ४ नेताको नोटअफ डिसेन्ट

कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवासहितका नेता ३२ वर्ष उमेर हदको अडानमा रहे । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी समूहका नेताहरुले विधान सम्मेलनको माग गरे तर, ३२ वर्षे उमेर हद कायम नै राख्ने निर्णय कांग्रेसले गर्‍यो । यसमा पौडेल, सिटौला समूहका नेताहरुले नोट अफ डिसेन्ट लेखे । त्यसपछि स्थगित भएको कांग्रेस केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन ।

स्ववियु चुनावअघि महाधिवेशन !

नेविसंघको ११ औं महाधिवेशनमा ३२ वर्षे उमेर हदको कुरा विधानमा राखियो । धेरैलाई लागेको थियो, अहिले उमेर हद राखिए १२ औं महाधिवेशन नआउँदै त्यसलाई हटाउन सकिहालिन्छ । तर, विधानमै लेखिइसकेको कुरा हटाउन नसकेपछि अहिले नेतृत्वको आकांक्षी नेताहरु एकअर्कालाई दोषारोपण गर्दै आफू चोखो बन्ने प्रयासमा छन् ।

नेविसंघ अध्यक्ष नैनसिंह महर महाधिवेशनको विकल्प नभएकाले पार्टीले छिट्टै सकारात्मक निर्णय गर्नेमा आशावादी छन् । ‘महाधिवेशनको विकल्प अरु छैन, महाधिवेशन नै हो,’ उनले भने, ‘पार्टीका नेताहरु सबै बसेर आवश्यक निर्णय गर्नुहन्छ र विधान हामीलाई दिनुहुन्छ ।’

नेविसंघ अध्यक्ष महरले परिस्थितिजन्य कुराले अहिले अलमल देखिए पनि महाधिवेशन गराएरै आफू विदा हुने बताउँछन् । ‘फागुन १४ मा स्ववियुको चुनाव छ, त्यस अगाडि महाधिवेशन हुन्छ,’ उनले भने ।

गच्छदारलाई देखाउँदै उम्किने प्रयास

नेविसंघको १५१ सदस्यीय केन्द्रीय कमिटीमा एकता प्रक्रियाबाट आएका फोरम लोकतान्त्रिकका १५ जना नेताहरुलाई पनि राखिएको छ । उनीहरुलाई महाधिवेशनको संघारमा समाहित गरियो । नेविसंघ अध्यक्ष महरका अनुसार तत्कालीन फोरम लोकतान्त्रिकका ती नेताहरुले आफूहरुको तल्लो तहसम्म मिलाउनुपर्ने भन्दै समय मागेका छन् ।

पार्टी केन्द्रीय समितिको नोट अफ डिसेन्ट र गच्छदार समूहको समायोजनलाई देखाउँदै नेविसंघ नेतृत्व दोषमुक्त बन्ने प्रयासमा देखिन्छ । त्यसैले यसलाई नेविसंघ अध्यक्ष महर ‘परिस्थितिजन्य कारण’ केही ढिलाई भए पनि महाधिवेशन भएरै छाड्ने बताउँछन् । ‘गच्छदार समूहका साथीहरुले हामीलाई समाहित गरेको एक महिनाभित्रै महाधिवेशनमा जान सक्दैनौं, हामीलाई पनि त संगठनको तल्लो तहसम्म मिलाउने समय चाहियो भन्नु भएको छ,’ महरले भने,  ‘कांग्रेससँग एकीकरण गरेको तत्कालीन फोरम लोकतान्त्रिकका विद्यार्थीहरुको भावनालाई पनि कदर गर्दै केही समय लिएर महाधिवेशनमा जान्छ ।’

गच्छदार समूहलाई मनोनित गर्दा पनि छलफल नगरिएको भन्दै नेविसंघका पौडेल-सिटौला पक्षका नेताहरु असन्तुष्ट छन् । उनीहरुले नेविसंघको नेतृत्व एकलौटी र मनोमानी ढंगले चल्दा महाधिवेशन अन्यौलमा परेको बताउँछन् ।

नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले भने, ‘केन्द्रीय समितिले अन्तिम रुप दिएको विधानलाई पन्छाएर नेतृत्वले आफू अनुकूल संशोधन गर्न खोजेकाले महाधिवेशन हुन नसक्ने अवस्था आएको हो ।’

तर अध्यक्ष महर भने पार्टीको निर्देशनअनुसार आफूले काम गरेको भन्दै कुनै पनि बहानामा महाधिवेशन सार्न नहुने बताउँछन् । ‘अब आफ्नो गुट कुनै कारणले कमजोर हुन्छ भन्ने सोचेर महाधिवेशनमा नजाने प्रयत्न कतैबाट हुनुहुँदैन,’ उनले भने, ‘चार-पाँच दिनभित्र नेपाली कांग्रेसको बैठक बसेर सबै कुराको निकास निकाल्दैछ भन्ने सूचना मैले पाएको छु । म महाधिवेशन गराएरै विदा हुन्छु ।’

यो पनि पढ्नुहोस् 

कुन्दन आउट ! प्रेमराजलाई चिठ्ठा

महामन्त्री थपिएपछि नेविसंघमा भाँडभैलो

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *