Uncategorized

कात्तिक २९ देखि भिमाद महोत्सव

१७ कात्तिक, पो खरा । तनहुँको भिमादमा कात्तिक अन्तिम सातादेखि भिमाद महोत्सव हुने भएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ भिमाद बजार एकाइको आयोजनामा कात्तिक २९ गतेदेखि मंसीर ११ गतेसम्म भिमाद रङ्गशालामा दोस्रो भिमाद महोत्सव-२०७५ हुने भएको हो । महोत्सवमा १९० स्टल रहने आयोजक तनहुँ उद्योग वाणिज्य संघ भिमाद बजार एकाईले शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

महोत्सवमा भिमाद र त्यस आसपासका क्षेत्रमा उत्पादन गरिएका मास, बोडी, सिलम, गहत, पिडालु, तरुल, अदुवा, सुन्तलालगायतका खाद्यान्न, फलफूल तथा तरकारीहरु बेच्नका लागि राखिने महोत्सव मूल आयोजक समितिका संयोजक चतुर्भुज सुवेदीले जानकारी दिए ।

त्यसका अलावा महोत्सवमा कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, सांस्कृतिक प्रदर्शनीलगायत पनि हुने उनले बताए । त्यस्तै, औद्योगिक तथा अटोमोवाइल प्रदर्शनी तथा खरिद बिक्री, ताजा तरकारीहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय परम्परागत खानाका परिकारहरुको प्रदर्शनी, आदिवासी, जनजातिहरुको भेषभूषा तथा कला संस्कृति र झाँकीहरुको प्रदर्शनीलगायत हुनेछन् ।

संयोजक सुवेदीका अनुसार महोत्सवमा पुगेका दर्शकहरुलाई पर्यटकीय स्थलको भ्रमण गराइनेछ । भिमादमा नेपालकै सुन्दर गुफामा पर्ने सिद्ध गुफा, नेपालकै सबैभन्दा लामो भनेर दाबी गरिएको चमेरे गुफा, भागर तपोभूमिको सिद्धगुफा, नेपाली टिपिकल गाउँहरु रघु र मिछुर्लुङ, रिसिङ, साभुङ, जिलाङ, मोहोरियालगायतका बस्तीहरु रहेको उनले जानकारी गराए ।

त्यस्तै, भिमाद क्षेत्रमा मृग, खरायो, वन कुखुरा, कालिजलगायतका वन्यजन्तु तथा पन्छीहरुसमेत हेर्न पाइने संयोजक सुवेदीले बताए । भ्रमण अन्तर्गत सिद्ध गुफा क्षेत्र, टिपिकल गाउँ रघु तथा मिछुर्लुङको होम-स्टे, ऋषिङ्गे राजाको दरबार, हातहतियार र रानीले नुहाउने रानीपोखरी, श्रृंग ऋषिको तपोभूमि अजम्बरी माइको मन्दीर आदी रहेको ऐतिहासिक बस्ती ऋषिङलगायतका स्थानहरु प्याकेजमा राखिएको छ ।

महोत्सव स्थल भिमाद बजार ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, हरिनास गाउँपालिका, म्याग्दे गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिका, पाल्पा, स्याङ्जा र नवलपरासीसहित १० वटा नगर तथा गाउँपालिकाको केन्द्र पर्छ ।

महोत्सव सञ्चालन गर्न ७३ लाख २२ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ राखिने जनाइएको छ भने विद्यार्थीका लागि ४० रुपैयाँ तोकिने भएको छ । महोत्सव अवधीभरको लागि मौसमी टिकट शुल्क भने ३ सय ५० रुपैयाँ राखिने महोत्सवका प्रचार संयोजक राजु खनालले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *