Uncategorized

सानेपामा काङ्ग्रेसको चियापान शुरु

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा शुरु भएको छ ।

चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदारलगायतले स्वागत गरेका छन् ।

हरेक वर्ष विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिदै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनको १३ औँ दिन नपुगेका कारण शुक्रबार गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

विगत पाँच वर्षदेखि अस्वस्थ रहनुभएका नेता बाँस्तोलाको गत असोज २७ गते निधन भएको थियो । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शुक्रबार केन्द्रीय कार्यालयसहित ७७ वटा जिल्लामा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान दिउँसो १ देखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा चल्नेछ ।

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काङ्ग्रेसले चियापान तथा जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, पत्रकार, गैरआवासीय नेपाली सङ्घसंस्थाका प्रमुखलगायत विशिष्ट महानुभाव, काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने पार्टी प्रवक्ता शर्माले बताए ।

काङ्ग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गर्न सकेको थिएन ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *