Uncategorized

कनकपट्टीमा धार्मिक एकताः मुस्लिमको पर्वमा हिन्दू अध्यक्ष

१६ कात्तिक, सप्तरी । हालैमात्र रौतहट तथा कपिलवस्तुमा हिन्दू र मुस्लिमबीच केही तनाव देखापर्‍याे । हिन्दूहरुले आयोजना गरेको दुर्गापूजालाई लिएर दुई धर्माम्बलीबीच तनाव देखिएपछि प्रशासनलाई कफ्र्यु नै लगाउनुपरेको थियो । तर, सप्तरी जिल्लामा एउटा यस्तो ठाउँ छ, जहाँका हिन्दू, मुस्लिमबीच सौहार्दपूर्ण सम्बन्ध मात्र छैन, एकले अर्काको चाडपर्व सँगै मनाउँछन् ।

शम्भुनाथ नगरपालिका वडा नम्बर २ कनकपट्टीमा दुई धर्माम्बलीबीचको सौहार्दपूर्ण सम्बन्ध बर्षाैंदेखि रहँदै आएको छ । सम्बन्ध यहाँसम्म राम्रो देखिएको छ कि एक धर्मको चाड मनाउन अर्काे धर्मका व्यक्ति आयोजक समितिका अध्यक्ष बन्ने गर्छन् ।

पछिल्लोपटक यहाँ मुस्लिम समुदायको दाहा पर्व मनाउने क्रममा हिन्दू धर्माम्बली अध्यक्ष बनेका छन् । दाहा मेला तथा लठ्ठी खेल प्रतियोगिताको आयोजना गर्दा आयोजक समितिको अध्यक्षमा हिन्दू धर्माम्बली प्रभुनारायण चौधरी अध्यक्ष बनेका छन् । सचिवमा मुस्लिम समुदायका नजिबुल हसन छन् भने कोषाध्यक्षमा हिन्दू धर्म मान्ने संजीब साह छन् ।

बिहीबारदेखि शुरु भएको दाहा मेला एवं लठ्ठी खेल प्रतियोगितामा दुबै धर्म मान्ने व्यक्तिहरुको उल्लेख्य सहभागिता थियो । मुस्लिम धर्म मान्नेले प्रत्येक बर्ष दाहा मेलासँगै लाठी लडाउने खेल खेल्दै आएका छन् । कनकपट्टीका बासिन्दा भने सँगै यो चाड मनाउँदै आएका छन् ।

मेलामा २५ फिट जति अग्लो दाहा बनाइएको छ । यो दाहा बनाउन हिन्दू, मुस्लिम दुबै समुदायका व्यक्तिले आर्थिक तथा सामग्री सहयोग गरेका छन् ।

‘दाहा बनाउन कारिगरले ४० हजार रुपैयाँ लिएका छन् भने रु ६० हजार बराबरको सामान लागेको छ’ समितिका सदस्य रहमत अलीले भने, “बाँससहितका घरेलु सामान भने स्थानीयहरुले स्वतस्फूर्त रुपमा सहयोग गरेका छन् ।”

मेलामा भइरहेको लठ्ठी खेल प्रतियोगिताका प्रतिस्पर्धी पनि दुबै धर्म मान्नेका छन् । दाहामा मुस्लिमले मात्रै लाठी लडाउने खेल गर्दै आएकोमा यो प्रतियोगितामा सहभागिता जनाएका ७ मध्ये सबै टिममा हिन्दू र मुस्लिम प्रतिस्पर्धीहरु सहभागी रहेको आयोजक समितिका अध्यक्ष चौधरीले बताए ।

‘हामी एकै ठाउँमा लामो समयदेखि बस्दै आएकोमा एकअर्काको धर्म, संस्कृतिको सम्मान गर्न एकअर्कासँग हातेमालो गर्दै आएका छौं’ अध्यक्ष चौधरीले भने ।

चौधरीको भनाइलाई जोड् दिँदै हसनले भने “यसअघि दशैंमा भएको दुर्गा पूजामा पनि हामीले भरपूर सहयोग गरेका थियौं ।”

शम्भुनाथ बजारमै दुर्गा भवानीको मुर्ती बनाउन मुस्लिमहरुले पनि आर्थिक सहयोग गरेको बताउँछन् अध्यक्ष चौधरी ।

दशैंअघि अहिले दाहा मेला लागेकै ठाउँमा सात दिने श्रीमद् भागवत महापुराणको आयोजना गरिएको थियो । जसलाई सफल बनाउन आफ्नो धर्माम्बलीहरुले पनि धेरै सहयोग गरेको बताए नजिबुल हसनले ।

बिहीबारदेखि शुरु भएके मेला एवं प्रतियोगिताको पनि हिन्दू र मुस्लिमले संयुक्त रुपमै उद्घाटन गरे । प्रदेश सांसद समीम र स्थानीय युवा नेता जितेन्द्र गुप्ताले संयुक्त रुपमा उद्घाटन गरे ।

प्रतियोगितामा लाठी, बेली, ढाल तलबार र फर्सा लडाउने खेल हुन्छ । यसमा विजयी हुने टिमका लागि दुबै धर्माम्बलीले शिल्ड र कपको व्यवस्था गरेका छन् ।

‘हामीले धर्म–धर्मबीच सौहार्दता रहोस् भन्ने सन्देश समेत दिन खोजेको बताउँदै चौधरी र हसनले एक स्वरमा भने, “एकअर्काको धर्म, संस्कृति र चाडपर्वको सम्मान गर्नु सबैलाई जरुरी छ ।”

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *