Uncategorized

म्याड्रिड र लुम्बिनी नगरपालिकाबीच ऐतिहासिक सम्झौता

१६ कात्तिक, स्पेन । स्पेनको म्याड्रिड महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच साझा समस्याहरुको संयुक्त समाधान खोज्न मद्दत पुग्ने गरी सम्झौता भएको छ।

बिहीबार स्पेनको राजधानी म्याड्रिडमा दुवै नगपालिकाको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यसहित सम्झौता भएको हो।

म्याड्रिड महानगरपालिकाका प्रमुख मानुयला कार्मेना र लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

उपलब्ध स्रोतहरुको सर्वोत्तम उपयोग गर्न तथा एक–अर्काका कार्ययोजनालाई सघाउन आर्थिक, सामाजिक, संस्थागत तथा सांस्कृतिक विकासलाई समेटने गरी सूचना, ज्ञान तथा अनुभवको आदानप्रदान गर्ने तथा सञ्चार तथा सहकार्यको प्रबर्द्धन गर्ने सहमति भएको छ।

यस्तै हाल विकास गरिँदै रहेका प्रस्तावहरुबारे बुझ्ने तथा ज्ञानलाई बढावा दिने उद्देश्यले दुवै पक्षलाई बैठक, सम्मेलनहरु ,पाठ्यक्रम तथा यस्तै अन्य कार्यक्रमहरुमार्फत् संयुक्त गतिविधिलाई प्रबर्द्धन गर्न प्रोत्साहित गर्ने र यसले दुवै नगरपालिकाहरुका साझा समस्याहरुको संयुक्त समाधान खोज्न मद्दत गर्ने सम्झौतापत्रमा उल्लेख छ।

संयुक्त कार्यहरुलाई बढावा दिने उद्देश्यले र उनीहरुबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले यो सहमतिले समेटने कुनै पनि क्षेत्रमा दुवै नगरपालिकाहरुले तोकेका बैठक तथा कार्यक्रमहरुमा एक अर्कालाई निम्तो गर्ने समेत सम्झौता पत्रको बुँदामा लेखिएको छ।

बिहीबारदेखि म्याड्रिडमा ४ दिनसम्म चल्ने प्रकृति, जलवायु तथा पर्यटन मेला ‘एक्सपोटुराल’को विशेष अवसरमा दुई नगरपालिकाहरु बीच सम्झौता भएको हो। म्याड्रिडको समुदाय, म्याड्रिड सिटी काउन्सिल, चेम्बर अफ कमर्स तथा उद्योग वाणिज्य संघको साझा संस्था आईएफईएमएले मेलाको आयोजना गरेको हो।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर चौधरीले दुई नगरबीच ऐतिहासिक सम्झौता भएको प्रतिक्रिया दिएका छन्। अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने, ‘लुम्बिनीको लागि यो अति नै महत्त्वपूर्ण काम भएको छ। यसबाट पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिएका छौ।’

सम्झौताले दुई नगरको मात्र नभई नेपाल र स्पेनबीचको सम्बन्धलाई समेत प्रगाढ बनाएको चौधरीले बताए। उनले आफ्ना समकक्षीलाई लुम्बिनी भ्रमणको निमन्त्रणा समेत दिएका छन्।

एक्सपोटुरालमा सहभागी बन्न आएका कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले सांस्कृतिक सम्बन्ध प्रगाढ पार्ने गरी भएको सम्झौता निकै महत्वपूर्ण भएको बताएका छन्। जोशीले भने, ‘लुम्बिनीलाई संसारभरलाई चिनाउने अवसरको रुपमा लिएका छौं। यसले नेपालको विकासलाई पनि सहयोग पुग्ने विश्वास छ।’

कुश्मा नगरपालिकासँग यसपटक कुनै सम्झौता नभए पनि दुई नगरपालिकाबीच सम्बन्ध प्रगाढ र आपसी सहयोगको विषयमा भने छलफल भएको बताए।

म्याड्रिडका मेयरलाई ढाका टोपी,थाङ्का र बुद्वको मुर्ति उपहार

म्याड्रिड महानगरपालिकाका प्रमुख मानुयला कार्मेनाले उपहार प्राप्त गर्ने बित्तिकै शिरमा नेपाली ढाका टोपी लगाइन् । उनलाई कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले ढाका टोपी उपहार दिएका हुन्।

यस्तै लुम्बिनीका मेयर चौधरीले बौद्ध दर्शनका आधारित एउटा विशिष्ट कला थाङ्कासहित बुद्धको मुर्ति उपहार दिएका थिए। थान्कामा कोरिएको बुद्धको चित्र मेयर कार्मेनाले निकै चाखपूर्वक हेरेकी थिइन् ।

स्पेनिस नागरिक खोसे मानुवल भिलानोभा र एनआरएनए युरोप उपसंयोजक एकराज गिरीको सक्रियतामा दुई नगरहरुबीच ऐतिहासिक सम्झौता भएको हो।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *