Uncategorized

बुटवलमा रातभरी होटल खोल्न नदिए अदालत जाने चेतावनी

१५ कात्तिक, बुटवल । बुटवलका होटल रेष्टुरा व्यवसायीले रातभर व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । प्रहरी प्रशासनले राति १० बजे नै सिठ्ठी फुकेर बन्द गराउँदा व्यवसायी र पाहुना दुबै मारमा परेको उनीहरुको गुनासो छ ।

रातभर होटल सञ्चालन गर्न दिन र इट्टाभट्टीदेखि योगीकुटीसम्मको कालिकापथ क्षेत्रलाई होटल जोनको रुपमा विकास गर्न स्थानीय सरकारसंग माग गरेका व्यवसायीले मंसिरसम्म माग पूरा नभए अदालत जाने चेतावनी दिएका छन् ।

बुटवल यातायात सेवाको ट्रान्जिट प्वाइन्ट, प्रदेशको अस्थायी राजधानी, अन्तर्राष्टिय पर्यटकीय स्थल लुम्बिनी र गौतमबुद्ध विमानस्थको नजिककैको रहेको शहर भएकाले रातभर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीको तर्क छ ।

स्थानीय, प्रदेश र संघीय सरकारलाई व्यवसायीका मागबारे बारम्बार जानकारी गराउँदा पनि बेवास्ता गरेकाले अब अदालत जाने स्थिति आएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जीसीले बताए ।

यसअघि पोखरामा पनि व्यवसायीहरु अदालत गएपछि लेकसाइडमा रातभर होटल खोल्न पाएका जीसीले बताए । बिहीबार बुटवलस्थित ग्यालेक्सी क्याफेको वाषिर्कउत्सव कार्यक्रममा बोल्दै अध्यक्ष जीसीले पाहुना आउने र ब्यापार हुने समयमा नै होटल, रेष्टुरेन्ट बन्द गर्नुपर्दा व्यवसायलाई निरन्तरता दिन गाह्रो भएको बताए ।

साढे २ करोड रुपैयाँ लगानी र ४० जनालाई रोजगारी दिएको क्याफेका सञ्चालक निलकण्ठ अधिकारीले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल ६ महिनाभित्रै संचालनमा आउने तयारीमा रहेकाले अब रुपन्देहीका होटल रेष्टँराहरु रातभर सञ्चालन हुन पाउनुपर्ने माग गरे ।

राति १० बजे नै व्यवसाय बन्द गर्दा पाहुनाहरु बास बस्न र अन्य सेवाग्राहीहरु सेवा उपभोग गर्नबाट बञ्चित हुनुपरेको गुनासो गरे । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले बदलिंदो समय अनुसार राज्यले आफ्ना नीति नियमहरु परिमार्जन गर्न आवश्यक भएको बताए ।

रुपन्देहीमा क, ख र ग वर्गका गरी ९ सय रेष्टुँरा तथा तीनै वर्गका होटल ७ सयको संख्यामा रहेका छन् । रुपन्देहीका होटलमा एक रातमा ६ हजार पाहुना राख्न सकिन्छ ।

बुटवलमा ४ वटा दोहोरी साँझ र एउटा डान्स बार सञ्चालनमा छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *