Uncategorized

पाकिस्तानमा हुने हक्की प्रतियोगितामा सहभागी नेपाली खेलाडीको विदाइ

१४ कात्तिक, झापा । पाकिस्तानमा हुने फस्ट अफ्जल मन्ना मेमोरियल हक्की टुर्नामेन्ट–२०१८ मा भाग लिने राष्ट्रिय टोलीका झापाली खेलाडीहरूलाई मंगलबार विदाइ गरिएको छ ।

लाहोरस्थित जोहार टाउन हक्की स्टेडियममा आगामी नोभेम्बर ८ देखि १४ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा प्रतिष्पर्धा गर्ने ७ खेलाडीसहित टिम कोचलार्इ विदाइ गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिले भद्रपुरस्थित मेची रंगशालामा आयोजना गरेको समारोहमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले शुभकामनासहित दिँदै उनीहरूलार्इ विदाइ गरे ।

झापाबाट टिम कोचमा प्रशिक्षक ज्ञानेन्द्रबहादुर खड्का, खेलाडीहरु पुरुषतर्फ चिरन प्रधान, मनोज चौधरी, सन्तोष बेस्रा र रोशन चौधरी तथा महिलातर्फ सिर्जना तामाङ र सरस्वती तामाङ छिन् ।

पाकिस्तानका हक्की तर्फका राष्ट्रिय खेलाडी मन्नाको स्मृतिमा हुन लागेको प्रतियोगिताका लागि झापाबाट राष्ट्रिय टोलीमा छानिएका नेपाली सेनामा कार्यरत् रोशन चौधरी २०७० सालयता त्रिभुवन आर्मी क्लवबाट प्रतियोगिता खेल्दै आएका छन् । उनी झापाको भद्रपुर ९ स्थित पुहाँतुवारी निवासी हुन् ।

५० सदस्यीय नेपाली राष्ट्रिय टोलीमा महिला र पुरुष गरी ४४ जना खेलाडी र ६ जना टिम कोच रहेका जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदाश मैनालीले जानकारी दिए ।

एशियन हक्की फेडरेशन र पाकिस्तान हक्की फेडरेशनले संयुक्त रुपमा आयोजना गर्ने सो प्रतियोगिताअघि सहभागी खेलाडीहरुलाई एक महिने बन्द प्रशिक्षण गराइने बताइएको छ । प्रतियोगितामा भाग लिने अन्य सदस्य भने बिहीबार पाकिस्तान प्रस्थान गर्नेछन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *