Uncategorized

हेटौंडा-सिस्नेरी-काठमाडौं सडक अवरुद्ध गरे कारबाहीः मुख्यमन्त्री पौडेल

१३ कात्तिक, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा-सिस्नेरी-काठमाडौ सडक अवरुद्ध नगर्न निर्देशन दिएका छन् ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सरोकारवालाहरुसंगको छलफलमा मुख्यमन्त्री पौडेलले बिभिन्न बहानामा सडक सञ्चालनमा अवरोध भएको भन्दै सडक सञ्चालन हुन दिन निर्देशन दिएका हुन् । विभिन्न बाहानामा सवारी सञ्चालनमा अबरोध गरे कारबाही गर्ने चेतावनी मुख्यमन्त्रीले दिए ।

मुख्यमन्त्री पौडेलले हेटौंडा काठमाडौ सडक स्तरोन्नतीको लागि प्रदेश सरकार लागि परेको बताए । कुलेखानी फाखेल फर्पिङसम्मको बाटोलाई प्रदेश सरकारले ४ करोड छुट्याइसकेको उनको भनाइ छ ।

यस्तै, सिस्नेरी दक्षिणकाली सडकखण्डमा ठेकेदारले काम गर्नुभन्दा पहिल्यै रकम भुक्तानी लिएर गैसकेको जानकारी प्राप्त भएकोले ठेकेदारसँग २/३ दिनभित्रै क्लियरेन्स लिएर ठेकेदारले काम नगरेपनि प्रदेश सरकारले स्तरोन्नतीको काम थाल्ने बताए ।

दिनप्रतिदिन सवारीको चाप बढ्दै गएको भन्दै उनले सडक साँघुरो भएकाले उक्त सडकमा जोरविजोर प्रणाली लागूगनुपर्ने आवश्यकता रहेको प्रष्ट पारे ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री केशब स्थापितले सडक सञ्जालमा कसैले अवरोध गर्न नहुने बताए । उनले अन्य बैकल्पिक मार्ग सञ्चालन गरे सवारी सञ्चालनमा थप सजिलो हुनेपनि प्रष्ट पारे ।

छलफल पश्चात विभिन्न ३ वटा निर्णयसमेत गरिएको छ । छलफलले हेटौंडा-काठमाण्डौ सञ्चालन हुने सार्बजनिक यातायातका सुमोहरुमा जोरबिजोर प्रणाली लागू हुने निर्णय गरेको छ । यसको व्यवस्थापनको लागि ट्राफिक प्रहरी र यातायात क्षेत्रलाई समन्वय गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी यातायात सहजताका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी कार्यालय काठमाडौंसंग आवश्यक समन्वय गरी निर्णय कार्यान्वयन गर्ने, गराउने समेत निर्णय भएको छ ।

त्यसैगरी सडकका ठेक्काहरु प्रदेश सरकारमा हस्तान्तरण भैनसकेको अवस्थामा सडक डिभिजन कार्यालय काठमाडौं र मकवानपुरले निर्माण कार्यको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई तीन दिनभित्र सम्पर्कमा आइ आवश्यक मर्मत गरी यातायात सहज रुपले सुचारु गराउन पत्राचार गर्ने निर्णय भएको छ ।

संघीय सरकार मातहत रहेको दक्षिणकाली-छैमले-सिस्नेरी-कुलेखानी सडक खण्डमा नेपाल सरकारबाट सम्झौता भई चालु रहेका ठेक्काहरु आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित सडक डिभिजन कार्यालयहरुबाट प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले बुझ्ने व्यवस्था मिलाउने पनि छलफलबाट निर्णय गरिएको छ ।

यसअघि सिस्नेरी दक्षिणकाली सडकखण्ड र कुलेखानी फाखेल हुमानेभञ्याङ्ग सडक स्तरोन्नतीको माग गर्दै उक्त क्षेत्रका जनप्रतिनिधि तथा स्थानीयले मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानिँयालाई ध्यानाकर्षण पत्र बुक्राएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *