Uncategorized

अन्जली दिदीले काष्ठमण्डप बाहिर भाइटीका लगाउने

१३ कात्तिक, काठमाडौँ । तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले आउँदो तिहारमा पनि अन्जली मास्केले मन्दिर बाहिरै भाइटीका लगाउने तयारी गरेकिछन्  ।

दिदीबहिनी नभएका दाजुभाइलाई बीस वर्षदेखि निरन्तर टीका लगाउँदै आएकी अञ्जली दिदीले वसन्तपुरस्थित काष्ठमाण्डप भित्रको गोरखनाथ मन्दिर वरिपरि सबैलाई राखेर टीका लगाउँदै आएकी छन् । विसं २०५५ देखि टीका लगाउन सुरु गरेकी उनले अहिलेसम्म चार हजार पाँचसय नेपाली र २५० विदेशी दाजुभाइलाई टीका लगाइसकेकी छन् ।

‘भूकम्प गएको तीनवर्ष बितिसक्दासम्म काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने प्रयाससम्म गरेको छैन, यसवर्ष पनि मन्दिर बाहिरै बसेर भाइटीका लगाउनु पर्नेभयो । त्यसबेलादेखि सबै दाजुभाइलाई मण्डपबाहिरै राखेर भाइटीका लगाउँदै आएको छु,’ अञ्जली दिदीले भन्छिन, ‘दिदीबहिनी नभएका दाजुभाइलाई दिदीका रुपमा आफ्नै माइती सम्झेर टीका लगाइदिँदै आएकी छु ।’

पुनःनिर्माणमा ढिला हुँदा वर्ष दिनमा आउने पर्व पनि राम्रोसँग मनाउन पाइएकाले सरोकारवाला निकायलाई अनुरोध  गर्दै उनले भनिन्, ‘आगामी वर्ष यही मण्डपमा बसेर  भाइटीका लगाउन पाइयोस् ।”

यही कात्तिक २३ गते यसवर्ष भाइटीका परेको छ, त्यस दिन उनले दिउँसो १३ः३०देखि साँझ १६ः३० बजेसम्म भाइटीका लगाउने तयारी गरेकी छन् । त्यतिमात्र होइन भाइटीकाका लागि प्रयोग हुने मिठाइ तयार गर्न पनि भनिसकेकी छन् । अन्य सामग्री किनमेलमा मास्के अहिले व्यस्त छन् ।

सुरुमा २०८ जनाका लागि टीकाका सामग्री तयार पारे पनि टीका लगाउँदै जाँदा सङख्या वृद्धि भए सोहीअनुरुप सामग्री तयार गरी टीका लगाइदिने गर्दै आएकी ७३ वर्षीया मास्के भन्छिन्, ‘हरेक वर्ष टीका लगाउनका लागि पुरानै अनुहार मात्र नभएर केही नयाँ अनुहार पनि थपिने गरेका छन् ।’

आफू रहेसम्म र शरीरले धानेसम्म टीका लगाइदिने इच्छा भएको र टीका लागाउन विदेशी पनि आउने गरेको जानकारी दिँदै उनी भन्छिन् , ‘विदेशमा पनि मेरा धेरै दाजुभाइ हुनुहुन्छ । जापान, बेलायत, भारत लगायत देशका दाजुभाइले निरन्तर रुपमा टीका लगाउन लगाउँदै आउनुभएको छ।’

वसन्तपुरमा दुई दर्जन भन्दा बढी ऐतिहासिक सम्पदा छन् भूकम्पका कारण दशवटा पूर्णरुपमा क्षति भएको छ भने अन्यमा सामान्य क्षति पुगेको छ ।

हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलका अनुसार वसन्तपुरमा रहेका केही सम्पदाको पुनःनिर्माण कार्य शुरु भइसकेको छ भने केहीको तत्काल सुरु हुने अवस्थामा छ ।

वसन्तपुरकै महत्वपूर्ण मानिने सम्पदा नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक पक्षबारे विश्लेषण भइरहेको छ भने गद्दी बैठक यस अघि नै पुनःनिर्माण भइसकेको छ ।

माजुदेगः देवल पनि गत सोमबारदेखि पुनःनिर्माण शुरु भएको छ । काष्ठमाण्डप पनि पुनःनिर्माण शुरु भइसकेकाले प्रयोग गर्न नपाए पनि आगामी वर्षको तिहारमा मन्दिर बाहिर बसेर टीका लगाउने बाध्यता हुनेछैन ।

ऐतिहासिक सम्पदा पुनःनिर्माण भइरहदा वसन्तपुर अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ । गत कात्तिक ५ गते अहिलेसम्मकै सबैभन्दा बढी करिब १३ लाख आम्दानी भएको र त्यस दिन सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या ८२ पुगेको थियो भने अन्य देशबाट एक हजार २६९ पर्यटक घुम्न आएका थिए ।

यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो । यस क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कबापत् १५० रुपैयाँ तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्छ । नेपालीका लागि भने शुल्क तोकिएको छैन । अन्य दिन वसन्तपुरबाट औसतमा दैनिक १० लाख शुल्क असुल हुने गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *