Uncategorized

स्वरोजगार कोष बेथितिः ५५ हजारको झूठो विवरण, परीक्षा नै नगरी पदपूर्ति

१२ कात्तिक, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले आर्थिक, सामाजिक, राजनीति, पूर्वाधार निर्माणदेखि अख्तियार दुरुपयोगसम्मका विषयलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् । कुनैले निकुञ्ज छलेर रेलमार्ग निर्माण हुन लागेकोलाई समेटेका छन् भने कुनैमा कर्मचारी र जनप्रतिनिधिको विदेश भ्रमण, नेकपाको एकतालगायत समाचार छन् ।

त्यसैगरी, मेलम्चीको गाडीमा पहुँचवालाले रजाइँ गरेको, पाँच न्यायाधीश नहुँदा इजलास प्रभावित भएको, स्वरोजगारका नाममा करोडौं भ्रष्टाचार भएकोलगायत समाचारलाई पनि पत्रपत्रिकाहरुले उत्तिकै महत्त्व दिएर पहिलो पृष्ठमा कभरेज गरेका छन् ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा करोडौं भ्रष्टाचार भएको राजधानीले लेखेको छ । रकम छनोट, वितरण, कर्मचारी र्भा, अनुगमन, सेवा सुविधालगायतमा व्यापक भ्रष्टाचार भएको हो ।

व्यवस्थापन समितिले स्वरोजगारको नाममा सुन व्यवसायी, बस तथा ट्याक्सी व्यवसायी, होलसेल पसल, मालसामान सप्लाइ गर्ने डिलरलगायतलाई नियमविपरीत रकम वितरण गरेको फेला परेको समाचारमा उल्लेख छ ।

कोषका कार्यकारी निर्देशकले पेन्सन तथा कोषको दोहोरो सुविधा लिएको मात्रै होइन , कोषले १५ वर्षमा ५५ हजारलाई स्वरोजगार बनाएको दाबी नै गलत भएको प्रधानमन्त्री कार्याालय अन्तर्गत छानबिनको अख्तियारी पाएको सतर्कता केन्द्रले जनाएको भन्दै राजधानीले खबर लेखेको छ ।

२३ दरबन्दीमा ३१ नियुक्ति गरेको कोषले परीक्षा नै नगरी पदपूर्ति गरेको छानबिनका क्रममा भेटिएको छ । ३१ कर्मचारीको २० पूर्णांकको परीक्षा नै नगरी कोषले नियुक्ति दिएको हो ।

१०१ वर्षीया वृद्धाले नागरिकता पाएको समाचारलाई प्राथमिकताका साथ छापेको अन्नपूर्णले कर्मचारी र जनप्रतिनिधिको विदेश भ्रमण मोहबारे लेखेको छ ।

अन्नपूर्णका अनुसार पछिल्लो अगस्ट र सेप्टेम्बर महिनामा जनप्रतिनिधिका २३ समूह विभिन्न देशको विदेश भ्रमण सकेर फर्केको छ ।

अन्नपूर्ण लेख्छ– अधिकांश जनप्रतिनिधि महत्त्व नभएका गोष्ठी, सेमिनार र कार्यशालाका लागि विदेश गएका छन् । केही भने विदेशका विभिन्न नगरसँग भगिनी सम्बन्ध राख्न भन्दै उड्ने गरेका छन् ।
अन्नपूर्णमै नेकपाको एकता संसदमै अधुरो रहेको खबर पनि छ ।

प्रदेश २ बाहेक ६ वटै प्रदेश र संघीय संघीय संसदमा नेकपाकै प्रष्ट बहुमत भए पनि संसदभित्रकै पदीय जिम्मेवारी बाँडफाँट नहुँदा नीतिगत निर्णय हुन नसकेको समाचारमा उल्लेख छ ।

समाचार अनुसार भागबन्डा नमिल्दा कतिपय प्रदेशसभामा नेकपाले संसदीय दलमा अन्तरिम जिम्मेवारी दिएको छ । कतिपयमा प्रदेश सरकार गठन भएको ९ महिना बित्दासमेत मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन ।

नागरिकले मेलम्ची खानेपानी आयोजनाको गाडीमा पहुँचवालाले रजाइँ गरेको, राजधानी र नाम सुझाउन प्रदेश २ ले आयोग गठन गरेकोलगायत समाचार छन् ।

नयाँ पत्रिकाले प्रा.डा. गोविन्द केसीको माग २ महिना पूरा हुँदा पनि सरकारले पूरा नगरेकोलाई मुख्य समाचार बनाएर लेखेको छ । आलुको मूल्य दोब्बर बढेको, ७० लाख बराबरको पटका बरामद भएकोलाई पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा नै पढ्न सकिन्छ ।

कान्तिपुरले निकुञ्ज छलेर रेलमार्ग निर्माण हुने भएको लेखेको छ भने गोरखापत्रले कानून बने पनि प्रचलनमा नआएकोमा चिन्ता व्यक्त गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *