Banner News

कम्युनिष्ट सरकारको ‘खिचडी समाजवाद’

  • अर्जुन घर्ती मगर

हुन त संसारमा आफू अनुकुलको राजनैतिक व्यवस्थालाई समाजवादको परिभाषा दिने बिचार चिन्तन नयाँ होइन । यद्यपि आजभोलि नेपाली राजनीतिक वृत्तमा धेरै छलफल हुने र लोकप्रिय शब्द बनेको छ ‘समाजवाद ।’ नेपालकाे संविधान निर्माताहरु भन्छन् ‘संविधानले समाजवादको परिकल्पना गरेको छ।’ यदि त्यसो हो भने विशेषगरी संसारमा प्रक्षेपण भएका खास समाजवाद कति प्रकारका छन् त?

खासगरी चिन्तन दर्शनका आधारमा समाजवाद २ प्रकारका हुन्छन्।

१) वैज्ञानिक समाजवाद
२) लोकतान्त्रिक समाजवाद

संसारमा कहिँकतै तानाशाही समाजवाद पनि देखिन्छन् तर ती नगण्य मात्रामा छन् जस्तै उत्तर कोरिया संसारकै एक विरलै उदाहरण हो।

के हो त वैज्ञानिक समाजवाद ?

वैज्ञानिक समाजवाद भनेको गरिबको आर्थिक अवस्था मजबुत गर्न क्षमता अनुसारको काम र आवश्यकता अनुसारको दामको व्यवस्था गर्ने, धनी र गरिब बीचको आर्थिक दुरी कम गर्दै वर्ग अन्त्यको प्रयास गर्ने, मान्छे मान्छे बीचको सबैखाले विभेद अन्त्य गर्दै सहअस्तित्व, सद्भाव र सहसम्मान सहितको सुशासन कायम गर्ने, देश भित्रै रोजगारीको सृजना गर्दै आत्मनिर्भर राष्ट्र निर्माण गरि विश्व साम्यवादको यात्रा आरम्भ गर्न थप विकसित राजनीतिक दर्शन र ब्यवहारिक ज्ञानका लागि मानिसलाई अझै क्रियाशील र दक्ष बनाउने शासन व्यवस्था हो।

यसले सामुहिकतामा जोड दिन्छ। जो रुसमा लेनिनले अभ्यास गर्ने कोसिस गरे। यो व्यवस्थाको पक्षमा संसारका क्रान्तिकारी कम्युनिस्टहरु छन्।

के हो त लोकतान्त्रिक समाजवाद ?

लोकतान्त्रिक समाजवाद भनेको निजीकरणलाई प्रोत्साहन गर्दै धनीहरुलाई व्यवसायीकरण गर्ने र गरिबहरुलाई रोजगारी सृजना गर्ने तर क्षमता अनुसारको काम र काम अनुसारको दाम दिएर अनपढ गरिबहरुलाई कम ज्याला दिएर जिविकोपार्जन बाहेक माथि उठ्न नदिने, वर्गलाई कायम राखि राख्ने र आफ्नो आवश्यकताको आधारमा हरेक प्रकारको शोषण गर्ने, हरेकलाई आर्थिक प्रलोभन देखाएर विभाजन गर्दै आफ्नो राजनीति प्रभुत्व कायमै राख्ने, गरिब र धनी, मालिक र नोकर भाग्यको खेल हो भन्ने मान्यता स्थापित गर्दै मानव जीवनका आधारभुत आवश्यकतालाई केही सुधार गरि मुठ्ठीभर मानिसले संसारलाई कजाइ रहने, मानिसलाई विवेकशील र दक्ष भन्दा पनि इमानदार चाकर बनाउन भरपुर प्रयत्न गर्ने राजनीतिक दर्शन सिद्धान्त र शासन व्यवस्था हो।

यो प्राय पश्चिमा राष्ट्रहरुमा स्थापित छ र नेपालमा नेपाली कांग्रेसले भन्ने गरेको समाजवाद नै यसको प्रमुख उदाहरण हो।

त्यसो भए अहिले नेपालको सत्तासीन कम्युनिस्ट पार्टीले स्थापित गर्न खोजेको समाजवाद के हो त ?

अहिले नेपालमा सत्तासीन कम्युनिस्ट पार्टीले भनेको समाजवाद सामाजिक न्याय र आर्थिक समृद्धि सहितको समाजवाद हो। यो लोकतान्त्रिक समाजवाद भन्दा विकसित र वैज्ञानिक समाजवाद भन्दा केही कमसल र सुधारिएको समाजवाद हो ।

झट्ट हेर्दा यो सवन्नयवादी व्यवस्था जस्तो लाग्छ तर पनि यसको लक्ष्य वैज्ञानिक समाजवादको निकट हुन्छ।

यसले सुरुमा वर्गीय समाजलाई नै प्रश्रय दिए जस्तो देखिन्छ तर यसको अन्तिम गन्तव्य गर्व बिहिन समाज व्यवस्था नै हो। यो समाजवादले हरेक क्षेत्रको सुधार गर्दै जन-अपेक्षा अनुसार अघि बढ्ने प्रयत्न गर्छ।

तर वर्तमान सामाजिक गतिविधि र सरकारको ओरेन्टेसन हेर्दा नेपालमा तेस्रो समाजवादको प्रक्षेपण हुन लागेको हो कि भन्ने आशंका पैदा भएको छ, त्यो हो ‘खिचडी समाजवाद’। खाद्य वस्तुको खिचडी सर्वोत्तम खाना बन्छ र मानिसलाई मानसिक, शारीरिक, सामाजिक र संवेगात्मक हिसाबले स्वस्थ बनाउँछ तर शासकीय व्यवस्था खिचडी भयो भने यी सबै हिसाबले मानिसलाई संक्रमित बनाउँछ र हत्या हिंसा बलात्कार चोरी डकैती सबैखाले अपराधीक क्रियाकलाप कायम राखि भद्रगोल राष्ट्र निर्माण गर्दछ।

त्यसकारण कम्युनिस्ट सरकारको लक्ष्य खिचडी समाजवाद होइन वैज्ञानिक समाजवाद बनोस्।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *