Uncategorized

माहुरी चराउँदै चितवनबाट दाङ

११ कातिक, दाङ । चितवनका माहुरी पालक किसान माहुरी चराउन दाङ आएका छन् । चितवनको मिलीजुली माहुरी पालक कृषक समूहमा आवद्ध तीन जना किसानहरु तीन सय घार माहुरी चराउन दाङ देउखुरीको सतबरीया आएका हुन् ।

अहिले चितवनमा माहुरीको लागि मौसम उचित नभएको र फूलबारी नभएको कारण दाङमा ल्याएको माहुरी पालक किसान बताउँछन् । दाङको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर, कमानपुर, उच्चानिम्बु लगायतको स्थानमा प्रशस्त तोरी बारी छन् । तोरीको रसबाट गुणस्तरीय मह उत्पादन हुने हुँदा आफूहरुले माहुरी चराउन दाङ ल्याएको किसान डिल्ली आचार्यले बताए ।

‘अहिले चितवनभन्दा मह उत्पादनको हिसाबले दाङ राम्रो छ, तोरीको फूलबाट राम्रो मह उत्पादन हुन्छ,’ आचार्यले भने, त्यसैले माहुरी चराउन आयौं ।’

कात्तिक महिनामा फूल्ने तोरीको रसबाट माहुरीले जम्मा गर्ने मह निकै राम्रो मानिन्छ । त्यसैले ‘कात्तिके मह’ पारखीहरुको रोजाइमा पर्दछ । कात्तिके मह शुद्ध र स्वादिलो हुने र यसलाई औषधिको रुपमा पनि प्रयोग गर्न सकिने जानकारहरु बताउँछन् । ‘कात्तिके महको विशेष माग हुने भएकाले दाङबाट कात्तिके मह उत्पादन गर्न पाउनु हाम्रो लागि राम्रो अवसर हो,’ सापकोटाले भने ।

माहुरीपालक किसानहरुका अनुसार एउटा घारबाट ६ केजीसम्म मह उत्पादन गरेको बताउने माहुरी पालक किसानले वार्षिक ६ लाखसम्म आम्दानी हुने गरेको बताउँछन् ।

तोरीको फूलमा माहुरीले मह बनाउनको लागि चाहिने रस र परागकणको मात्रा बढी हुने हुँदा पनि तोरीबारी माहुरी पालक किसानहरुको रोजाइमा पर्दछ । मानिसहरुले खेतबारीमा बिषादी प्रयोग गर्ने भएकाले माहुरी पालक किसानलाई प्रतिकुल असर पनि पर्ने गरेको छ ।

त्यसैले चितवनका धेरै माहुरीपालक किसानहरुका लागि दाङका तोरीबारी सुरक्षित गन्तव्य बन्ने गरेको छ । चितवनका माहुरीपालक किसानहरु गाडीमा दर्जनौं घार बोकेर कात्तिक महिनामा दाङ आउँछन् । करिब एक महिनापछि उनीहरु फेरि चितवन फर्किन्छन् किनभने कात्तिक महिनापछि चिउरी फूल्ने क्रम शुरु हुन्छ ।

स्थानीय कृषि सहकारीबाट मह काढ्ने औजार लगायतको सहयोग पाए पनि माहुरी पालक किसानले चरणस्थल अभाव भएको गुनासो गर्छन् । ‘माहुरी चराउनका लागि महिना-महिनामा स्थान परिवर्तन गर्दै हिँड्नुपर्छ, माहुरी घारसहित ढुवानी गर्नुपर्दा लागत पनि बढी लाग्छ,’ माहुरी पालक किसान कृष्ण पौडेलले भने ।

माहुरी चराउन खेतबारीको डिलमा घार राखेबाफत केही रकम जग्गा धनीलाई बुझाउने गरेको उनीहरु बताउँछन् ।

-शिबु खनालबाट

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *