Uncategorized

कर्णालीको पर्यटकीय महत्व बोकेका तस्वीर वीरेन्द्रनगरमा प्रदर्शन

११ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशकाे पर्यटकीय महत्व राख्ने विभिन्न तस्वीरहरु प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।

सुर्खेत लायन्स क्ल्ब इन्टरनेशनल डिस्ट्रिक ३२५बी२ को आयोजना तथा मनघरी फाउन्डेसनको सहयोगमा फोटो पत्रकार भरतबन्धु थापाले खिचेका तस्वीरहरु प्रदर्शन गरिएको हो ।

प्रदर्शनीमा प्रदेशका १० जिल्ला ५५ वटा तस्वीर छन्, जसलाई आफूले ९ वर्ष लगाएर खिचेको थापाले बताए । भाषा, कला, साहित्य, ऐतिहासिक स्थल, मनोरम दृश्य, ताल, हिमाल तथा जैविक विविधताले भरिपूर्ण कर्णाली प्रदेशको प्रचार गर्ने उद्देश्यले तस्वीरहरु प्रदर्शन गरिएको उनको भनाइ छ ।

प्रदर्शनीमा विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती द्यो, नेपालको सबैभन्दा ठूलो ताल रारा, नेपालको सबैभन्दा गहिरो ताल फोकसुण्डो, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दैलेखको दामुपालको अभिलेख, नेपाली भाषाको उदगम थलो जुम्ला, नेपालको सबैभन्दा उचाइमा रहेको सदरमुकाम हुम्लाको सिमीकोटको खलगा बजार, लोपोन्मुख अवस्थामा रहेको जाजरकोटको खुडा नाच तथा राउटेका साथै पर्यटकीय स्थलहरु छन् ।

त्यसैगरी दोस्रो लुम्बिनीका रुपमा परिचित सुर्खेतको काँक्रेबिहार, कर्णाली प्रदेशको शक्तिका रुपमा पूजा गरिने देउती बज्यैको मन्दिरलगायतका तस्वीरहरु पनि प्रदर्शनीमा समावेश गरिएको छ ।

भरतबन्धुले यसअघि भक्तपुर, काठमाडौं, नेपालगन्ज, धनगढी, कास्की र सुर्खेत गरी ९ पटक एकल फोटो प्रदर्शनी गरिसकेका छन् । उनले पश्चिम नेपालका पर्यटकीय स्थलहरुको फोटो किताब समेत निकालेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *