Uncategorized

प्रेम र आशाका हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

८ कात्तिक, सप्तरी । सप्तरीमा भएको दुईवटा हत्याका घटनामा संलग्न हालसम्म पनि पक्राउ नगरिएको भन्दै अधिकारकर्मीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गर्ने संघ-संस्थाका प्रतिनिधीहरुले अबिलम्ब हत्यारा पक्राउ गर्न माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत् बिहीबार प्रधानमन्त्रीलाई ज्ञापन पठाउँदै उनीहरुले अबिलम्ब हत्यारा पक्राउ नगरिए कडा आन्दोलनमा उत्रने जनाएका हुन् । ‘आन्दोलनबाट हुने क्षतीको जिम्मेबार सरकार नै हुनेछ,’ ज्ञापनमा भनिएको छ ।

अन्तर पार्टी महिला संजालकी अध्यक्ष सुनिता कुमारी साह, सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादव, ग्रीन नेपालका अध्यक्ष खेलानन्द दास र मनीराज सामुदायिक विकास केन्द्रका उपाध्यक्ष दीपेन्द्र पासवानले संयुक्त रुपमा प्रधानमन्त्रीलाई ज्ञापन पठाएका छन् ।

२१ वर्षीय युवक प्रेम यादव युवाहरुको आक्रमणबाट मारिएका हुन् भने एकल महिला आशा देवलाई पनि धारिलो हतियारले आक्रमण गरी हत्या गरिएको भन्दै प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनमा भनिएको छ,’एक साताभित्रै दुई जनाको हत्या हुनुले जिल्लाको शान्ति सुरक्षा कस्तो छ भने छर्लङ् देखाउँछ । झन् एकल महिला आशा देवीको घर जिल्ला प्रहरी कार्यालयकै सामुन्नेमै रहेपनि उनको घरभित्रै हत्या हुनुले सुरक्षा अवस्था कतिसम्मको फितलो छ भन्ने पुष्टि गर्दछ ।’

लगातारको हत्याले समग्र सप्तरीबासीलाई स्तब्ध बनाउनुका साथै त्रसितसमेत बनाएको उल्लेख गर्दै ज्ञापनमा यी दुई हत्या भएको दुई साता बितिसक्दा पनि कुनै पनि हत्यारा पक्राउ पर्न नसक्नु बिडम्बना भएको जनाइएको छ ।

अहिले सरकारमा रहेकाहरुले नै यो संविधानलाई जारी गरेपनि संविधान कार्यान्वयन नहुनु र संविधानले प्रत्याभूत गरेको अधिकारबाट समेत सर्वसाधारण हनन् हुनुले नयाँ नेपाल र संघीय नेपालको परिकल्पना गर्न नसकिने ठहर ज्ञापनमा गरिएको छ ।

‘आखिर यस्तो अवस्था कहिलेसम्म रहने हो ?’ प्रश्न गर्दै ज्ञापनमा भनिएको छ, ‘बीच बजारमै हत्या हुनु र अहिलेसम्म हत्यारा पत्ता नलाग्नु राज्यप्रतिको उपहास समेत हो । हामी अबिलम्ब हत्याको कारण बुझ्न चाहेका छौं । हत्यामा को-को संलग्न छन् ? भन्ने जान्न चाहेका छौं ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *