Uncategorized

बढी भाडा असुल्नेलाई कारबाही गर्न माग

८ असोज, बुटवल । यातायात व्यवसायीहरुले सरकारले तोकेको भन्दा बढी भाडा असुलिरहेको भन्दै विवेकशील साझा पार्टी रुपन्देहीले कारवाही गर्न माग गरेको छ ।

पार्टीले बिहीबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई एक ध्यानाकर्षण पत्र बुझाउँदै विभिन्न यातायात व्यवसायीले हालै बृद्धि भएको १० प्रतिशत भन्दा बढी भाडा असुलेर यात्रुमाथि ठगी गरेकाले अनुगमन गरी कारवाही गर्न माग गरेको हो ।

यात्रुबाट बढी भाडा असुल्ने क्रममा यात्रु र सवारीसाधनमा काम गर्ने कर्मचारीबीच बसमा बारम्बार झगडा र विवाद हुने गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

विवेकशील साझा पार्टी प्रदेश ५ का संगठन प्रमुख सुदन ज्ञवाली, रुपन्देही जिल्ला संयोजक गणेश पन्थी, जिल्ला संगठन प्रमुख गोपाल घिमिरेसहितको टोलीले प्रमुख जिल्ला अधिकारी रानालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

यातायात व्यवसायीहरुले छोटो दुरीमा १० प्रतिशतको सट्टा ३३ प्रतिशत बढाएर भाडा असुलिरहेको विवेकशील साझाका प्रदेश संगठन प्रमुख ज्ञवालीले दावी गरे ।

प्रदेश ५ को उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत रुद्र ज्ञवालीले आफू हरेक दिन भैरहवा बुटवल यात्रा गर्दा यहांका पश्चिम नेपाल, सिद्धार्थ यातायात लगायतका समितिका बसले सरकारले तोके भन्दा बढी भाडा असुलेर ठगिरहेको गुनासो गरे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *