Uncategorized

वडाअध्यक्षको नाममा सूचना टाँसेर ‘सफाया’ गर्ने चेतावनी

७ कार्तिक, बुटवल । वडा अध्यक्ष र केही जग्गा व्यवसायीको नामबाट ज्यान मार्ने धम्की आएपछि वुटवलमा एक व्यक्तिले जीवन रक्षाको अपील गरेका छन् ।

बुटवल उपमहानगरपालिका १७ का वडा अध्यक्ष सन्तबहादुर रानासहित ८ जनाले दशैं र तिहारभित्र ज्यान लिने धम्की दिएको भन्दै ५० वर्षका प्रेमसागर तिवारीले प्रहरीसमक्ष शान्ति सुरक्षाको माग गरेका हुन् ।

वडा अध्यक्ष रानासहित सोही वडाका चिन्तामणि पाण्डे, हरिलाल न्यौपाने, विशाल विश्वकर्मा, लालु खड्का, राजेशमान श्रेष्ठ, ढुण्डीराज भण्डारी र दीपक न्यौपानेको नाम उल्लेख भएको पर्चामा तिवारीलाई पटकपटक मार्ने प्रयास गरिएको तर यसपटक दशैं र तिहारभित्र सफाया गरिछाड्ने चेतावनी दिइएको छ ।

वस्तीमा रहेका विदुतका पोलहरुमा टाँसिएका उक्त पर्चामा तिवारीको सफायासंगै वडा नंं १७ को जनसंघर्षटोल -सुकुम्बासी वस्ती) मा रहेका घरहरुमा नगरपालिकाको सहयोगमा डोजर लगाएर भत्काइदिने चेतावनी समेत दिइएको छ ।

तिवारीले १५ वर्षदेखि उक्त टोलमा आफूहरुको जग्गा हडपेर सुकुम्बासीलाई वितरण गरी वस्ती बसालेको उल्लेख गरिएको छ । तिवारीले भने वस्ती बसेको जग्गा सरकारी जग्गा भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफैले मुद्दा हालेपछि जग्गा दावी गर्नेको विपक्षमा फैसला भएपछि उनीहरुले आफूलाई निशाना बनाएको दावी गरे ।

आफूलाई ज्यान लिने धम्की दिने व्यक्तिहरु भूमाफिया भएको आरोप लगाउंदै उनले उनीहरुको जग्गाबारे अख्तियारले पुनः छानबिन गर्नुपर्ने माग गरे । निजहरुले सरकारी जग्गा किर्ते गरेर आफ्नो नाममा बनाउने काम गरिरहेको र लालपुर्जामा उल्लेख गरे भन्दा धेरै सरकारी जग्गा हडपेको दावी गरे ।

वडाअध्यक्ष रानाले तिवारीको ज्यान लिने धम्कीमा आफ्नो संलग्नता नरहेको बताए । ‘यो कसले गरेको हो मलाई जानकारी छैन’, रानाले भने ‘मेरो नाम जोडेर कस्ले यस्तो काम गरेको हो सुरक्षा निकायले अनुसन्धान गरी आवश्यक कारवाही गर्नुपर्छ ।’

हेर्नुस् सूचना

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *