Uncategorized

बलात्कार आरोपबारे रोनाल्डोले भने – सत्य कहिल्यै लुक्दैन

६ असोज, काठमाडौं । पाँचपटकको बालोन डि’ओर विजेता पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफूमाथि लागेको बलात्कारको आरोपको खण्डन गरेका छन् ।

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग मंगलबार रात हुने खेलअघिको पत्रकार सम्मलेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो वकिलहरु यसबारेमा ढुक्क भएको र सत्य कसैले पनि लुकाउन नसक्ने बताएका हुन् ।

यसै सिजनमात्रै रियल मडि्रडबाट जुभेन्टस गएका रोनाल्डो माथि संयुक्त राज्य अमेरिकाकी केथरिन मायोग्रा नामकी ३४ वषिर्या महिलाले बलात्कारको आरोप लगाएपछि हलचल मच्चिएको छ ।

पूर्व शिक्षिका केथरिनले रोनाल्डोले सन् २००९ मा आफूलाई लस भेगास होटलमा बलात्कार गरेको बताएकी छिन् । तर, ३३ वषिर्य रोनाल्डोले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् ।

च्याम्पियन्स लिगमा समूह चरणको खेल अन्तर्गत आफ्नो पूर्वक्लब म्यान्चेस्टर युनाइटेडसँग खेल्नु २४ घन्टा अघि पत्रकारहरुको प्रश्नको सामना गर्दै रोनाल्डोले भने, ‘मलाई थाहा छ, म एक उदाहरण हो । मलाई मैदानबाहिर र मैदानभित्र के गर्ने भन्ने शत प्रतिशत थाहा छ ।’

‘म सँधै मुस्कुराइरहने खुसी मान्छे हो’, ओल्ड ट्राफोर्डको पत्रकार सम्मेलनमा अचानक देखापरेका रोनाल्डोले भने, ‘म राम्रो क्लबबाट खेल्छु, मेरो सुन्दर परिवार छ, मेरा चार बच्चाहरु छन्, म स्वस्थ छु, मसँग सबैथोक छ त्यसैले मलाई अन्य कुराले फरक पार्दैन ।’

आरोप निराधार भएको बताउँदै उनले भने ‘म कहिल्यै पनि झुटो कुरा गर्दिन । म खुसी छु, मेरा वकिलहरु यसबारेमा ढुक्क छन् र म पनि ढुक्क छु । म फुटबलमै खुसी छु, यो नै मेरो जीवन हो । बाँकी, मलाई माया गर्ने र मेरो हेरविचार गर्ने मानिसहरु छन्, साथै सत्य कुरा सँधै पहिले आउँछ त्यसैले म ठीक छु ।’

कसरी विवादमा परे रोनाल्डो ?

जर्मन खेल साप्ताहिक डेर स्पाइगलले सबैभन्दा पहिले यसबारेमा समाचार छापेको थियो । उक्त साप्ताहिकको समाचार अनुसार मायोग्राले सन् २००९ मा उक्त घटना भएको केही समयपछि नै लस भेगास प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् ।

डेर स्पाइगलका अनुसार सन् २०१० मा उनले रोनाल्डोसँग तीनलाख पचहत्तर हजार डलर लिएर घटनाको बारेमा सार्वजनिक नगर्ने सर्तमा अदालत बाहिर मिलापत्र गरेकी थिइन् ।

लस भेगास प्रहरीले पनि सन् २००९ को जुन महिनामा उजुरी आएको र त्यसबारेमा छानबीन गरेको तर, उक्त मुद्दामा कसैलाई संदिग्ध नपाइएको जनाएको छ । यसै महिना उनीहरुले उक्त मुद्दा फेरि खोलेको बताएका छन् ।

मायोग्राका वकिलका अनुसार सामाजिक सञ्जालमा आएको #MeToo अभियानले मायोग्रालाई यसबारेमा बोल्न प्रेरित गरेको र उनले अमेरिकामा रोनाल्डोविरुद्ध एक मुद्दा दायर गर्ने बताए ।

रोनाल्डो गत जुलाईमा मात्रै ९९ दशमलब २ मिलियन पाउण्डमा रियल मडि्रडबाट जुभेन्टस आएका थिए । उनले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा गरि पाँचपटक विश्वको उत्कृष्ट फुटबलरले प्राप्त गर्ने बालोन डि’ओर अवार्ड प्राप्त गरेका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *