Uncategorized

बालबालिकाको संरक्षण गर्न अभिभावक र समाज जवाफदेही हुनुपर्छः श्रममन्त्री

५ कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले बालबालिकाको संरक्षण र विकासका लागि अभिभावक र समाजलाई थप जवाफदेही बनाउन आवश्यक रहेको बताएका छन् ।

सडक बालबालिकाको क्षेत्रमा काम गर्ने नेपाललगायत विभिन्न ३४ देशका सङ्घसंस्था सहभागी अन्तर्राष्ट्रिय सम्मेलनको आज ललितपुरमा उद्घाटन गर्दै उनले अभिभावक र समाजमा जागरण तथा सोहीअनुसार कानूनी संरचना निर्माण गरेर मात्रै बालबालिकाको संरक्षण र विकास गर्न सकिने बताए ।

“गरीबी, साथी सङ्गत र कुलतका कारण बालबालिका घरपरिवार छाडेर सडकमा जाने गरेका उदाहरण पर्याप्त देखिए पनि मुख्यकारण भनेको अभिभावकको मायाममताको अभाव नै हो,” मन्त्री बिष्टले भने ।

जोखिममा रहेका बालबालिकाको उद्धार तथा संरक्षण र विकासका लागि अवलम्बन गर्नुपर्ने नीतिका सन्दर्भमा सरकारले गम्भीरताका साथ काम गरिरहेको उल्लेख गर्दै मन्त्री बिष्टले बालबालिकासम्बन्धी ऐन, २०७५ ल्याएर बालबालिकाका अधिकारलाई सुनिश्चित गर्न आफ्ना प्रतिबद्धता कानूनमार्फत व्यवस्थित गर्ने काम अघि बढाइएको जानकारी गराए ।

“एकातिर सडकमा रहेका बालबालिकालाई उद्धार गर्ने, राहत पुर्याउने, पुनःस्थापित गर्ने काम आफैँमा महत्वपूर्ण छ । अर्कोतर्फ जोखिममा रहेका बालबालिकालाई सडकमा जान नपर्ने गरी राज्यका नीति तथा कानून कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आवश्यक छ,” मन्त्री बिष्टले भने, “सडकमा जाने बालबालिकाको सङ्ख्या न्यूनीकरण गर्दै यसको अन्त्य गर्न सरकारले आगामी दिनमा थप प्रभावकारी कदम चाल्नेछ ।”

सम्मेलनको उद्घाटन समारोहमा नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी, नेपालका लागि फ्रान्सका राजदूतलगायत ३४ देशका विभिन्न संस्थाका प्रतिनिधि तथा मानवअधिकारकर्मीको उपस्थिति थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *