Uncategorized

पूर्वसांसदका छोरा भन्छन्- बुबाले रक्सी खाएर सम्पत्ति सक्नुभयो

१ कात्तिक, मोरङ । गत शनिबार आत्महत्या गरेका पूर्वसांसद कर्णबहादुर धिमालले जिवित रहँदासम्म परिवारलाई कुनै सहयोग र अभिभावकत्व नदिएको उनका छोराले गुनासो पोखेका छन् ।

बुबाको काजकिरिया सकेर काठमाडौं र्फकन लागेका छोरा अभिमन्यु धिमालले स्थानीयबासीलाई आग्रह गरे- ‘बुबाको साइडबाट मात्रै नहेरिदिनोस्, छोरा र आमाको साइटबाट पनि हेरिदिनोस् ।’

‘आफूलाई जन्म दिने बुबा हो, यसरी मृत्यु हुँदा दुःख त लागि हाल्छ । जति बिर्सन खोजे पनि बिर्सन सकिँदैन रहेछ, मैले त बिर्सन चाहेको थिएँ’ छोरा अभिमन्यु धिमालले अनलाइनखबरसँग भने, ‘अझ यसमाथि पनि गाउँलेहरुले मलाई आरोप लगाएको सुन्दा झन धेरै दुःख लाग्यो ।’

बुबा कर्णबहादुर धिमाल राजनीतिमा सांसदजस्तो माथिल्लो तहमा पुगे पनि पारिवारिकरुपमा भने शुन्य अवस्थामा पुगेको छोराको गुनासो छ । आफूले काठमाडौं जाऔं भन्दा पनि नमानेको र भएको सम्पत्तिजति रक्सी सेवन गरेर सिध्याएको उनले बताए ।

हाल ललितपुरको लुभुमा आमासँग बस्दै आएका अभिमन्युले भने-‘उहाँले रक्सी सेवन गर्न थालेको धेरै पहिलेदेखि हो । त्यसरी पिउन थालेपछि र घरव्यवहार नै नहेरेपछि आर्थिक पनि सिद्धिने भो, सामाजिक लेभल पनि त्यस्तै हुने भो । तर, समाजले एउटा पाटोमात्रै हेर्‍यो । हाम्रो पाटोबाट हेरेन ।’

मृतक धिमाललाई छोरा र आमाले नहेरेको र जग्गासमेत बैंकमा राखेर पैसा निकालेको भन्ने छिमेकीहरुको आरोप अस्वीकार गर्दै उनले यस्तो प्रतिक्रिया दिए-

राजनीतिमा त बुबा सांसदसम्म हुनुभयो । तर, राजनीति एकचोटि छाडिदिनोस् । घरव्यवहार हेर्नोस् त । घरव्यवहार त जीरो भयो । म सानैदेखि आमाले गर्दा यो ठाउँसम्म आइपुगेको छु । म आमातिर ढल्केको कारण के हो भने बुबातिर लागेको भए म अहिले सिद्धिन्थें होला । आमाले दुःख गरेर यहाँसम्म आइपुगेको मलाई थाहा छ ।

उहाँले रक्सी सेवन गर्न थालेको धेरै पहिलेदेखि हो । त्यसरी पिउन थालेपछि र घर व्यवहार नै नहेरेपछि आर्थिक पनि सिद्धिने भो । सामाजिक लेभल पनि त्यस्तै हुने भने । तर, समाजले एउटा पाटोमात्रै हेर्‍यो । समाजले बुबाको साइडबाट मात्रै हेर्‍यो । हाम्रो साइडबाट पनि हेर्नुपर्‍यो नि ।

हामीले घरमा बुबाबाट न मोरल्ली सपोर्ट पायौं, न आर्थिकरुपमा सपोर्ट पाइयो । दुईवटै सपोर्ट नपाएपछि त घर व्यवहार पनि बिगि्रन्छ नि । आफ्नो काम गरेर खानुपर्ने छ, उहाँलाई मात्रै हेर्न त सकिँदैन नि ।

मैले काठमाडौं जाऔं भन्दा पनि उहाँले नमानेपछि त मैले के गर्ने ? उहाँ काठमाडौंमा बस्न रुचाउनै हुन्नथ्यो त म के गरौं ? मैले पनि आफ्नो कर्म गरेर त खानुपर्‍यो । काठमाडौं मेरो कर्म गर्ने ठाउँ हो । मैले यहाँ पतञ्जलीको एउटा सानो पसल राखेर बसेको हुँ । म पनि त्यत्तिकै चुपलागेर बसेको त छैन । खुट्टा हल्लाएर मात्रै बसेर त पैसा आउँदैन ।

उहाँले लालभित्तीमा जग्गाजमीन बेच्दै खाँदै बसेको धेरै वर्ष भइसकेको थियो । उहाँले आफ्नो जति बेचेर सिध्याएर यो हजुरआमाले मलाई दिएको जग्गामा बस्नुभएको थियो । सबै जग्गा छोरा र श्रीमतीको नाममा थियो भनेरमात्रै हुँदैन । आमाले दुःख गरेर कमाएको सम्पत्ति त उहाँको पेवा हो ।

बुबा अहिले लालभित्तीको जुन घरमा बस्नुभएको थियो, त्यो मलाई हजुरआमाले दिनुभएको हो । त्यो जग्गा बुबाबाट मेरोमा आएको कुनै हिस्ट्री नै छैन । उहाँको कति जग्गा थियो र कति खर्च गर्नुभयो भन्ने मलाई थाहा छ । मैले आफ्नो बाबुको सम्पत्ति रोक्का गर्न त पाउँछु नि । तर, मैले गरिनँ । मैले होस् भनेर छाडिदिएको हो ।

मैले बैंकबाट २० लाख निकालेको र बुबालाई २० हजार माग्दा नदिएको भन्ने स्थानीयवासीको आरोप सही होइन । मैले सानिमा बैंकबाट २० लाख निकालेको छैन । हाम्रो अहिले एउटा र्फम दर्ता छ, त्यसको प्रोपाइटर म नै हो । बिराटचोकको एनसीसी बैंकसँग आवद्ध भएर हामीले काम गरिरहेका छौं । मैले त्यहाँ बैंक ग्यारेन्टीमात्रै गरेको हुँ, मैले त्यो जग्गा राखेर पैसा लिएको छैन ।

अहिले म दानाको बिजनेस गर्दैछु । दानाको फ्याक्ट्री खोल्ने हाम्रो सल्लाह भैरहेको छ अहिले । त्यसका लागि मलाई अहिले पुँजी चाहिएको छ । त्यही पुँजी नभएर त्यहाँ जग्गा यति छ है भनेर बैंकको ग्यारेन्टी दिनेमात्रै काम गरेको छ । नगद निकालेको हैन मैले । तर, त्यहाँ गाउँमा त्यस्तो हल्ला चलेको रहेछ ।

के भएको थियो भने बुबाले खाना खाने ठाउँमा गएर मलाई फोन गर्नुभएको थियो । उहाँ घर छेउको होटलमा खानुहुन्थ्यो । उहाँले होटलको पैसा तिर्दे है भन्नुभयो । मैले हुन्छ, म हेर्छु भनें । अनि मलाई पछि काठमाडौं आउँदा खर्च दिनुपर्छ है भन्नुभयो । मैले भर्खरै व्यवसाय सुरु गरेको छु । मसँग पैसा छैन, मसँग भयो भने तपाईलाई तिर्दिन्छु भनेको थिएँ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *