Uncategorized

गोरखाको चुम उपत्यका, जहाँ काटमार बिल्कुल चल्दैन

३१ असोज, काठमाडौं । दशैं भन्नेवित्तिकै माछामासुको कुरा आउँछ । माछामासु भन्नेबित्तिकै पशुवधको कुरा आउँछ । शक्तिपीठहरुमा र घर-घरमा देवी-दुर्गाको नाममा खसी, बोका, राँगा, कुखुराको बली दिइन्छ ।

तर नेपालमा एउटा यस्तो ठाउँ छ जहाँ घोषित रुपमै ‘पशुवली निषेध’ गरिएको छ । पशुबली त टाढाको कुरा जंगलमा गुलेली समेत चलाइँदैन । यो हो, गोरखाको चुमनुब्री गाउँपालिका-६ चुम्चेत र ७ छेकम्पार । दुई वडालाई एकमुष्ठमा चुम उपत्यका भनिन्छ ।

करिब ८ सय घरधुरी रहेको चुम उपत्यकामा कहिल्यै पनि काटमार गरिँदैन । छेकम्पारलाई १९७७ सालमै अहिंसा क्षेत्र घोषणा गरिएको हो भने चुम्चेतलाई २०६९ सालमा । गाउँमा अहिंसा (स्याक्या) महोत्सव गरी चार किल्ला तोकि त्यस क्षेत्रभित्र हिंसाजन्य पाँच काम नगर्ने प्रतिवद्धता स्थानीयले जनाएका छन् ।

यस्ता छन् प्रतिवद्धताः

१. कुनै पनि जीव-जनावर काटमार नगर्ने

२. शिकार नखेल्ने

३. मह नकाढ्ने

४. डढेलो नलगाउने

५. मासुको प्रयोजनका लागि जीव एवं पंक्षीलाई अहिंसा क्षेत्रभित्र प्रवेश नगराउने

त्यस्तै काम दिन नसक्ने गरी बुढो भएपछि पनि कुनै जनावरलाई नमार्ने वा मासु खाने व्यक्तिको हातमा नबेच्ने र चौंरीको बाच्छा नमार्ने प्रतिवद्धता पनि जनाइएको छ ।

चीनसँग सीमा जोडिएको यस गाउँको प्रहरी चौकीमा बस्ने प्रहरीहरुले समेत काटमार गर्न पाउँदैनन् । चुमभ्याली घुम्न जाने सयौं विदेशी पर्यटकले पनि मासु खान पाउँदैनन् किनभने होटलहरु सबै शाकाहारी मात्रै छन् ।

चुम कल्याण समितिका अध्यक्ष तथा अहिंसा क्षेत्रका अभियन्ता छेकम्पारका निमा लामा यो गाउँ नेपालकै नमुना रहेको बताउँछन् । ‘कतै-कतै गुम्बा वरपर अघोषित रुपमा अहिंसा क्षेत्र रहे पनि घोषित रुपमा अहिंसा क्षेत्र नेपालमा यो मात्रै हो’ उनले भने, ‘हामीले वुद्धको पञ्चशीलको मान्यता अनुशरण गरेका छौं ।’
यसरी बन्यो अहिंसा क्षेत्र

यो क्षेत्रलाई जीवजन्तुको खुला संग्रहालय भन्दा हुन्छ । यहाँका जीव-जनावर र चराचुरुंगीको मानिससँग पारिवारिक सम्बन्ध छ ।

छेकम्पारमा वि.सं. १९७७ मा नै अवतारी लामा डुक्पा लामा सेराप दोर्जेको रोहवरमा अहिंसा क्षेत्र घोषणा गरिएको थियो । छेकम्पार अहिंसा क्षेत्र भए पनि पर्यटक र सुरक्षाकर्मीलाई काटमार निषेधित थिएन । २०६५ साल फागुन २२ गते छेकम्पार गाविसको गाउँपरिषदबाट गाविसको चार किल्लाभित्र पर्यटक र सुरक्षाकर्मीले पनि काटमार नगर्ने प्रस्ताव पारित गरियो । छिमेकी चुम्चेत गाविसमा भने पशु काटमार बन्देज थिएन ।

छेकम्पार गाविसका पूर्वअध्यक्ष रहेका निमा लामाले चुम्चेतलाई अहिंसा क्षेत्र घोषणा गरी सिंगो चुम उपत्यकालाई अहिंसा क्षेत्रको रुपमा मान्यता दिलाए । उनले धर्मगुरु समेतको सहभागितामा पटक-पटक बौद्ध दर्शन र प्रवचन कार्यक्रम राखे । अहिंसा क्षेत्र बनाउन स्थानीय वासिन्दालाई सहमत गराए ।

२०६८ सालमा चुम्चेत गाविसको गाउँ परिषदले गाविसलाई अहिंसा क्षेत्र घोषणा गर्ने निर्णय गर्‍यो । त्यही निर्णयअनुसार २०६९ वैशाख १३ देखि १५ गतेसम्म चुम उपत्यका साँस्कृतिक स्याक्या (अहिंसा) महोत्सव आयोजना गरियो । महोत्सवमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई भट्टराईले अहिंसाप्रति प्रतिवद्धता जनाई चुम उपत्यकालाई अहिंसा क्षेत्रको रुपमा राज्यस्तरबाटै मान्यता दिए ।

बली चढेका पशुका लागि कठोर ब्रत

यहाँ लामा समुदायको बसोबास छ । उनीहरु वौद्ध धर्माबम्बी हुन् । दशैं मनाउँदैनन् तर, दशैंको बेलामा पूजा भने गर्छन् । हरेक गुम्बा र घरघरमा बत्ती बाल्ने र पानीसमेत नखाई कठोर ब्रत लिएर पूजा गर्छन् । दशैंमा धेरै पशुबली दिइने भएकाले त्यस बेलामा विशेष पूजा गरिन्छ, जसलाई ञङ्ने पूजा भनिन्छ ।

‘एक दिन त बोल्न पनि पाइँदैन, पानीसमेत नखाई पूजा गरिन्छ, अर्को एक दिन चिया र एक छाक खाएर पूजा गरिन्छ’ निमा भन्छन्, ‘ध्यान गर्ने, पूजा गर्ने, गुम्बा र घरहरुमा बत्ती बाल्ने गरिन्छ ।’

यस्तो पूजा फूलपाती र अष्टमीमा गरिन्छ । बली चढेका पशुहरुले अर्को जुनीमा राम्रो जन्म लिउन् भन्ने प्रार्थना गरिने निमा बताउँछन् । चुम उपत्यकामा ४० वटा जति गुम्बा छन् । यस्तो पूजा हरेक गुम्बामा गरिन्छ ।

अमानवीय व्यवहार

दशैंको बेलामा धेरै खसीबोका, राँगाहरु बली चढ्नेमात्र होइनन्, बली चढाउनुअघि पनि ती पशुमाथि गरिने व्यवहार कम पाशविक छैनन् । भारतबाट तराई हुँदै बसको डिकीभित्र राखेर खसीबोका काठमाडौं ल्याइन्छ, जहाँ सास फेर्नसमेत कठिन हुन्छ । भनेको बेलामा तिनीहरुले घाँस, पानी खान पाउँदैनन् ।

तिब्बतको चिसो हावापानीमा पाइने च्याङ्ग्रालाई मधेसको गर्मीमा झारिन्छ । तिब्बतमा ४ हजारदेखि ४५ सय मिटरसम्मको उचाइमा हुर्के बढेका च्याङ्ग्रालाई काठमाडौंको १२-१३ सय मिटरको उचाइमा ल्याएर धेरै दिनसम्म त्यसै राख्दा गर्मी खप्न उनीहरुलाई निकै कठिन हुने निमा बताउँछन् ।

‘तिब्बतमा भेडाच्यांग्राको गोठ र चरण हुने ठाउँ ४ हजारदेखि ४५ सय मिटर उचाइमा हुन्छ’ उनी भन्छन्, ‘उच्च हिमालमा बस्ने च्याङ्ग्रा काठमाडौंको १२-१३ सय मिटर उचाइ र तराईका अझ बढी तापक्रम भएको ठाउँमा गर्मीले बस्नै नसक्ने अवस्था छ ।’

च्यांग्राले काटमार गर्नुअघि नै आफ्नो मृत्युबारे थाहा पाउने निमाको दावी छ । ‘त्यसैले काटिनुअघि यो धेरै चिच्याउँछ,’ उनी भन्छन् ।

‘लुम्बिनीलाई पनि अहिंसा क्षेत्र बनाऔं’

बुद्ध जन्मस्थल लुम्बिनी विश्वभरका वौद्ध धर्माबम्बीको आस्थाको केन्द्र हो । वर्षमा हजारौं बौद्ध धर्माबलम्बी यहाँ घुम्न र आफ्नो आस्था व्यक्त गर्न पुग्छन् । गोरखामा अहिंसा क्षेत्र घोषणा गराएका लामा लुम्बिनीमा पनि अहिंसा क्षेत्र घोषणा गरिनुपर्ने धारणा राख्छन् ।

‘बुद्ध जन्मस्थलमा बुद्धको उपदेशको पालना गर्नुपर्छ धेरै सकिदैन भने सानो क्षेत्रलाई भए पनि अहिंसा क्षेत्र घोषणा गर्नुपर्छ’ उनी भन्छन् ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *