Uncategorized

वडाध्यक्षको चार महिनाको तलब विद्यालयलाई

३० असोज, बलेवा । बागलुङ काठेखोला गाउँपालिका–१ का वडाध्यक्ष खड्क थापाले आफ्नो चार महिनाको पारिश्रमिक विद्यालय अक्षयकोष स्थापनाका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

थापाले वडाध्यक्षको रुपमा काम गर्न बाँकी रहेको चार वर्षमध्ये प्रत्येक वर्ष एक विद्यालयका दरले वडाभित्रका चारै विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

हरेक वर्ष एक महिनाको तलब भत्तालगायतका सुविधा विद्यालयमा हस्तान्तरण गरेर अक्षयकोष स्थापना गर्न लागेको उनले बताए । अक्षय कोषको ब्याजबाट आउने रकमलाई आवश्यकताका आधारमा विभिन्न शीर्षकमा खर्च गर्नेगरी विद्यालयको संरक्षणमा राखिने छ ।

गरीबीका कारण विद्यालय बाहिर रहेका बालबालिकाको शिक्षादिक्षा, छात्रावृत्ति, पुरस्कार वितरण लगायतका विद्यार्थीको वृत्ति विकासलगायत शीर्षकमा खर्च हुने गरी अक्षयकोष स्थापना गर्न लागिएको हो ।

‘एक महिनाको सबै सुविधा विद्यालयलाई उपलब्ध गराउँदा विपन्न विद्यार्थीलाई सहयोग पुग्छ, भन्ने लागेको छ,’ वडाध्यक्ष थापाले भने, ‘मैले शुरुवात मात्रै गरेको हो, सामुदायिक विद्यालयको सुधारका लागि अन्य मनकारीले पनि सहयोग गर्नुहुन्छ, भन्ने लागेको छ ।’

जनप्रतिनिधि भएकाले समाजको उत्तर दायित्व आफूमा रहेको भन्दै उहाँले विद्यार्थीको उज्वल भविष्यका लागि अक्षयकोष स्थापना गर्ने सोच बनाएको बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *