Uncategorized

डाक्टरको सुझावः मासु खाएपछि आधा घन्टा श्रम गर्नुस्

काठमाडौं । दशैंमा माछा-मासुबाट बन्ने परिकारको अत्यधिक खपत हुन्छ । सप्तमीदेखि मासु खान सुरु हुन्छ र यो क्रम दशैंभरी चल्छ ।

तर, दशैंमा मासु सेवन गर्दा होस पुर्‍याउनु पर्ने चिकित्सकहरु बताउँछन् । अत्यधिक बोसोयुक्त मासुको सेवनले कलेजोलाई हानी गर्न सक्ने उनीहरुको चेतावनी छ ।

माछा-मासुमा प्रोटिनको मात्रा अधिक हुन्छ । एउटा स्वस्थ व्यक्तिलाई दैनिक न्युनतम पनि एक ग्राम प्रतिकेजी तौल प्रोटिनको आवश्यकता पर्छ । उदाहरणका लागि ४० केजी तौल भएको एउटा व्यक्तिलाई प्रतिदिन ४० ग्राम प्रोटिनको आवश्यकता पर्छ ।

कलेजोका रोगीले भने प्रतिदिन डेढ ग्रामसम्म प्रोटिन सेवन गर्नुपर्छ । त्यसो त माछामासु मात्र होइन, अण्डाको सेतो भाग, च्याउ, सागसब्जी तथा दूधजन्य पदार्थमा पनि पर्याप्त प्रोटिन पाइन्छ ।

तथापि, दशैको समयमा शारीरिक परिश्रम कम हुने भएकोले पनि चिकित्सकहरु माछाको बढि सेवन गर्न सल्लाह दिन्छन् । किनकी उच्च प्राटिनयुक्त माछामा बोसोको मात्रा कम हुन्छ । अन्यथा चाडपर्वमा अत्यधिक मासुको सेवनले शरीरमा फ्याट बढाउँछ । जसले गर्दा कलेजो विग्रन सक्छ ।

‘पहिल्यैदेखि कलेजोको समस्या भएका व्यक्तिको दशैंमा कुनै न कुनै भाग अवश्य नै बिगि्रएको हुन्छ,’ वीर अस्पताल लिभर (कलेजो) यूनिट प्रमुख डा. अनिल कुमार मिश्र भन्छन् ।

दशैंको समयमा घरैपिच्छे आफन्तहरुको जमघट हुने गर्छ । यस्ता जमघटमा मदिराको साथमा खसी तथा बोकाको टाउको, फोक्सो, आन्द्रा, कलेजो, छालालगायत पेटभित्रका अंगहरु बढि रुचाइन्छन् । जबकी चारखुट्टे जनावरमा सबैभन्दा धेरै बोसो जम्मा हुने भनेकै यिनै भागमा हो ।

बोसोयुक्त मासुले तत्काल समस्या नल्याए पनि दीर्घकालीन रुपमा भने उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मुटु रोग लगायतका समस्या निम्त्याउन सक्ने अर्का कलेजो रोग विशेषज्ञ डा. अनन्त श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘एक दिन खाँदैमा यसले खासै समस्या निम्त्याउँदैन । तर धेरैपटक यस्तो मासुको सेवनले भने दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।’

अझ कलेजोका रोगीहरुको हकमा बेसुरोपना, बेहोश हुने लगायतको समस्या निम्त्याउन सक्ने भएकाले चिकित्सकहरु यस्ता भाग छोडेर मासु खान सल्लाह दिने गर्छन् । त्यस्तै, मासु खाएलगत्तै कम्तीमा आधा घण्टा शारीरीक श्रम गर्न पनि उनीहरुको सुझाव छ । ‘खसी-बोकाको भन्दा कुखुरा, हाँस लगायतको सेतो मासु खानु उचित हुन्छ’ डा मिश्र भन्छन् ।

रातो मासुमा स्याचुरेटेड फ्याटको मात्रा धेरै हुन्छ । यस्ता फ्याटले कलेजोको समस्या निम्त्याउनुका साथै उच्च कोलेस्ट्रोल, युरिक एसिड तथा मुटु सम्बन्धि समस्यासमेत नित्याउने गर्छ । मदिराजन्य पदार्थको सेवनले पहिले नै कलेजो तथा मुटुको भित्री नलीमा क्षति पुर्‍याइरहेको हुन्छ ।

क्षति पुगेको भागमा बोसो जमेको खण्डमा त्यस्ता व्यक्तिहरु हृदयाघातको शिकार हुने सम्भावना पनि उच्च हुन्छ डा. मिश्रको भनाइ छ । यही कारणले गर्दा दशै, तिहारको समयमा वीर अस्पतालमा यस्ता समस्या लिएर आउने विरामीको संख्या उल्लेख्य हुने गरेको उनले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *