Uncategorized

टिका लगाएर नेतृत्व दिए समानान्तर समिति बन्छ: नेविसंघ उपाध्यक्ष राना

२९ असोज, बुटवल । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले संघको १२ औं अधिवेशनका सन्दर्भमा पार्टी नेतृत्वले तानाशाही र अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको बताएका छन् ।

संघको दुई महिनाअघि बसेको केन्द्रीय समिति वैठकले यही कात्तिक १६, १७ र १८ गते काठमाडौंमा १२ औं महाधिवेशनका लागि विधान र नियमावली बनाइ सर्वसम्मत पारित गरेर पार्टीमा अनुमोदनका लागि पठाएको थियो ।

उपाध्यक्ष रानाले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी पार्टीले संघको सर्वसम्मत पारित विधान अनुमोदन नगरी आफ्नो गुटको मान्छे नेतृत्वमा नआउने देखेर उमेर हदको विषय ल्याएर महाधिवेशनलाई फेरि पनि सार्ने खेल खेलेको आरोप लगाए । राना १२ औं महाधिवेशनमा अध्यक्षका दावेदार हुन् ।

११ औं महाधिवेशनका बेला विवाद समाधानका लागि नेता प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको निर्देशक समितिले संघले सर्वसम्मत पठाएको विधानलाई हेरफेर गरेर ३२ वर्षको उमेर हदबन्दी लगाएको र पार्टी केन्द्रीय समितिले बहुमतले विरोधका बीच पारित गरेपछि संघमा फेरि विवाद बल्झेको छ ।

नेविसंघको विधान तथा नियमावली परिमार्जन गर्नुपरे संघको राष्ट्रिय महाधिवेशन, विधान सभा वा पार्टीबाट अनुमोदन गराउनुपर्ने प्रावधान छ ।

तर, पार्टीले संघको केन्द्रीय समितिले सर्वसम्मत पारित गरी पठाएको विधानलाई पार्टीमा पेश नगरी निर्देशक समितिले आफू अनुकूल फेरबदल गरेर पार्टी केन्द्रीय समितिमा पेश गरेको रानाले बताए ।

पार्टी नेतृत्वले आफूले चाहेको व्यक्तिलाई टिका लगाएर नेतृत्व दिने निहित उद्देश्यका साथ उमेर हदको विषय ल्याएको उपाध्यक्ष रानाले बताए ।

आफूहरु उमेर हदको विरोधी नभएको तर महाधिवेशन सुनिश्चित हुनुपर्ने र नेविसंघको नेतृत्व विद्यार्थीले नै चुन्न पाउनुपर्ने अधिकारका लागि आफूहरुले आवाज उठाएको रानाको दावी छ ।

विश्वका कुनै पनि विश्व विद्यालयमा र पार्टीका अन्य भातृ संस्थामा उमेर हदको प्रावधान नहुने तर नेविसंघमा मात्रै पार्टीले थोपर्नु अलोकतान्त्रिक र तानाशाही चरित्र भएको रानाले बताए ।

उपाध्यक्ष रानाले पार्टीले हस्तक्षेप गरेर टिका लगाएर नेतृत्व चयन गरे देशभरका महाधिवेशन प्रतिनिधि बोलाएर नेविसंघका विधान अनुसार समान्नातर समिति बनाउने चेतावनी दिए ।

निर्देशक समितिको जिम्मेवारी र अधिकार संघमा कुनै विषयमा विवाद आएमा विवाद समाधान गर्नु भएपनि कार्यक्षेत्र बाहिर गएर काम गरेको रानाको तर्क छ ।

संघमा नैनसिंह महरको नेतृत्व अल्पमतमा रहेकाले महाधिवेशन टार्न प्रपञ्च रचिएको राना पक्षको दावी छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *