Uncategorized

चाडबाडमा महँगीको मार – OnlineDarpan.com

[ad_1]

काठमाडौं : चाडबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ। व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन्। यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ। भान्सामा उपभोग हुने धेरै वस्तुमा १५ देखि २० प्रतिशत मूल्यवृद्धि भएको छ। हरियो तरकारीदेखि फलफूलसम्म, चामलदेखि खानेतेलसम्म भाउ बढेको छ। सुख्खा फलफूलको मूल्य पनि अचाक्ली बढाइएको छ।

 

थोक व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेका हुन्। चाडपर्वको मुखमै मूल्यवृद्धि गरेर उनीहरूले मौकाको फाइदा उठाउन खोजेका छन्। तर व्यापारीले बाहिरबाट आयात गर्ने सामानमा डलरको विनिमय दर बढेकाले सामानको भाउ बढेको दाबी गरे। ढुवानी खर्च वृद्धि भएको, आन्तरिक उत्पादनमा कमी आएको र उत्पादन हुने मौसम सकिएकाले तरकारीजन्य वस्तुको मूल्य बढेको अर्का थरी व्यापारीको तर्क छ। महँगीको पहिलो असर भान्सामा परेको छ।

भान्सामा साँझ बिहान पाक्ने हरियो तरकारीमा औसतमा १५ देखि २० प्रतिशत मूल्य बढाइएको छ। नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार यो वर्ष अत्यधिक वर्षाका कारण राजधानीछेउका जिल्लामा उत्पादन कम भएको जनाएको छ। त्यही कारण बजारभाउ बढेको उसको दाबी छ।

राजधानीमा खपत हुने कूल तरकारीमध्ये झण्डै ६० प्रतिशत धादिङ, काभ्रे, मकवानपुर र ललितपुरबाट आउने गर्छ। यो वर्ष ती जिल्लाबाट त्योभन्दा कम आपूर्ति भएको बताइएको छ। ‘माग बढी र आपूर्ति कम हुँदा स्वाभाविक रूपमा वस्तुको मूल्यवृद्धि हुन्छ,’ महासंघ अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘हरियो तरकारीमा त्यही भएको हो।’ तरकारीमा प्रतिकिलो १० देखि १५ रूपैयाँ वृद्धि भएको छ।

तरकारीमा आलु, परवल तथा लहरेबाली अन्तर्गत बोडी, सिमी, घिरौंला, करेला, लौंका, सिमी, भिण्डी, परवल तथा काउलीको मूल्य अकासिएको छ। आलु केही सिमित स्थानबाट मात्रै बजार भित्रिएको छ। पुराना आलु करिब सकिएको छ। आलु प्रतिकिलोमा १० रूपैयाँ मूल्य बढेको छ। ‘भारत, भुटान र बंगलादेशमै अहिले आलुको मूल्य अचाक्ली वृद्धि भएको छ,’ घिमिरेले भने, ‘आयात गर्दा डलरमा कारोबार गर्नुपर्छ। डलरको विनिमय दर पनि अकासिँदै गएकाले मूल्यवृद्धि भएको हो।’

चालु आर्थिक वर्षदेखि सरकारले कृषिजन्य वस्तुको आयात गर्दा भन्सार शुल्क पाँच प्रतिशत बढाएर १० प्रतिशत पुर्‍याएको छ। सरकारले सार्वजनिक सवारी भाडामा १० प्रतिशत वृद्धि गरेका कारण पनि ढुवानी खर्च बढेको व्यापारीको दाबी छ। थोकमा प्रतिकिलो ३५ रूपैयाँमा पाइने आलुको मूल्य ४५ पुगेको छ। गोलभेंडाको मूल्य पनि नपत्याउने गरी अकासिएको छ। गोलभेंडा ‘अफ सिजन’ भएकाले मागअनुसार आपूर्ति नभएको हो। अघिल्लो साता ४५ रूपैयाँमा पाइने गोलभेंडा ७५ रूपैयाँमा पुगेको छ।

६० रूपैयाँ प्रतिकिलोको बोडी ८० पुगेको छ। ७० रूपैयाँको सिमी ९० मा पुगेको छ। लौका ३० रूपैयाँ पाइन्थ्यो, दोब्बर बढेर ६० भएको छ। घिरौला र भिन्डी, परवलको मूल्य बढेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले चाडपर्वको मुखमा आएर व्यापारीले मूल्य वृद्धि गरेको स्वीकार गरे। उनले केही व्यापारीले आफूखुशी मूल्य बढाएको र केहीले प्रक्रियागत कारणले बढाएको बताए।

‘अस्वाभाविक मूल्यवृद्धि गर्न पाइँदैन,’ ढकालले भने, ‘निकै गुनासो आइरहेको छ। के कारणले वृद्धि भएको हो, विश्लेषण गरिरहेका छौं।’ अचाक्ली मूल्यवृद्धिको अनुगमन गर्न मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागलाई परिचालन गरेको छ। मन्त्रालयले थोक र खुद्रा विक्रेताको मूल्य विवरण विश्लेषण गर्न थालेको उनको भनाइ छ।

खाद्यान्नमा पनि वृद्धि

दैनिक खाद्यवस्तुमध्ये चामल, खानेतेल, मैदा, आटामा पनि बजारभाउ बढेको छ। चामल प्रतिबोरा ५० रूपैयाँ वृद्धि भएको छ। खाने तेलमा प्रतिलिटर १० रूपैयाँ बढेको छ। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले थोक आयात गर्दा डलरको विनिमय दरको वृद्धिले खाद्यान्नको मूल्य बढाएको दाबी गरे। उनकाअनुसार सोयाबिन, तोरी र सनफ्लावर तेलको पनि मूल्य बढेको छ।

एक सय ३० रूपैयाँ प्रतिलिटर पाइने सोयाबिन तेल एक सय ४० देखि एक सय ४५ पुगेको छ। एक सय ४० रूपैयाँ पर्ने तोरीको तेल एक सय ५० देखि एक सय ६० पुगेको छ। एक सय ३० को सनफ्लावर तेल एक सय ५० देखि एक सय ५५ रूपैयाँ पुगेको छ। प्रतिकिलो ४८ रूपैयाँमा बिक्री हुने मैदा ५५ पुगेको छ। मैदाको मूल्यवृद्धिले त्यसैबाट बन्ने बिस्कुट, पाउरोटी, केकजस्ता पदार्थको मूल्य पनि अस्वाभाविक बढेको छ। ४५ रूपैयाँको आटा ५० पुगेको छ।

ड्राइ फ्रुटको मूल्यमा तीनसयसम्म वृद्धि

चाडपर्वमा धेरै रुचाइने ड्राइ फ्रुट्सको मूल्य पनि बढेको छ। अत्यधिक बजार लिएको काजु, पिस्ता, किसमिस, बदाम र सुख्खा नरिवल महँगिएको हो। यिनमा प्रतिकिलोमै तीन सय रूपैयाँसम्म भाउ बढेको छ। खुद्रा व्यापार संघ अध्यक्ष बज्राचार्यले यी वस्तु भारतलगायत तेस्रो मुलुकबाट आयात हुने भएकाले डलरभाउसँगै महँगिएको दाबी गरे।

एक हजार तीन सय प्रतिकिलोमा पाइने काजुको मूल्य एक हजार ६ सय पुगेको छ। एक हजार चार सय बिक्री मूल्य रहेको पिस्ताको मूल्य एक हजार सात सय पुगेको छ। चार सय प्रतिकिलोमा पाइने किसमिसको बजारमूल्य ६ सय कायम भएको छ। एक हजार एक सय मूल्य रहेको बदामको मूल्य एक हजार तीन सयदेखि एक हजार चार सय भएको छ। सुख्खा नरिवलको मूल्य प्रतिकिलो चारसयबाट पाँच सय पुगेको छ।

फलफुलमा पनि वृद्धि

चाडबाडमा धेरै बिक्री हुने र पूजापाठमा चाहिने फलफूलको मूल्य पनि अकासिएको छ। फलफूल १० प्रतिशतभन्दा बढी महँगिएको छ। नेपाल फलफूल व्यवसायी केन्द्रीय संघका कोषाध्यक्ष काशीराम सापकोटाकाअनुसार थोकमा ९० रूपैयाँ किलोमा बिक्री हुने विदेशी स्याउको मूल्य एक सय पाँच पुगेको छ।

एक सय २० रूपैयाँमा पाइने स्वदेशी मार्फा स्याउको मूल्य महँगिएर एक सय ४० भएको छ। केराको सय कोसाको चार सयबाट ६ सय पुगेको छ। स्याउ ९०, केरा ६० र सुन्तला ७५ प्रतिशत आयात हुन्छ। स्याउ चीनबाट बढी आयात हुन्छ।-अन्नपुर्णपाेष्ट

[ad_2]

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *