Uncategorized

काठमाडौं–७ को चुनाव मंसिरमा, वामदेवविरुद्ध रवीन्द्र उत्रने, कांग्रेसबाट को ?

२४ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि पहिलो प्राथमिकतामा नेकपा नेता वामदेव गौतमका लागि काठमाडौं ७ का सांसद् रामवीर मानन्धरले राजीनामा घोषणा गरेको विषय परेको छ । पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर मानन्धरले गरेको राजीनामाबारे समाचार लेखेका छन् । केहीले नेकपाभित्र यसले ल्याएको हलचलबारे पनि चर्चा परिचर्चा गरेका छन् ।

आजदेखि बडादशैं शुरु भएको छ । दशैं प्रारम्भ भएसँगै चहलपहल बढ्न थालेका छन् । आजका पत्रपत्रिकाहरुले समाचार, तस्वीरमार्फत् बढ्दो चहल–पहलबारे पनि जानकारी पस्केका छन् ।

यसका अतिरिक्त तीन महिनामै संसद् सचिवालय चुहिएको, स्थानीय तह निःशुल्क औषधि वितरण गर्न असफल भएको, आयातमा कडाइपछि आयर्वेदिक औषधि अभाव भएको, प्रधानमन्त्रीले समय नदिएपछि सुस्ताबासी घर फर्केकोलगायतका समाचारलाई पनि पत्रपत्रिकाहरुले उत्तकै महत्त्व दिएर छापेका छन् ।

निःशुल्क औषधि वितरण गर्न स्थानीय तह असफल भएकोबारे मुख्य समाचार बनाएको नयाँ पत्रिकाले वामदेव काठमाडौं ७ मा चुनाव लड्ने पक्का भएको लेखेको छ । त्यहाँ दशैं–तिहारपछि उपनिर्वाचन गराउने तयारी छ ।

नयाँ पत्रिका लेख्छ– नेकपा सचिवालय सदस्य वामदेव गौतम काठमाडौं–७ बाट चुनाव लड्ने पक्का भएको छ । तत्कालीन एमालेबाट प्रतिनिधिसभामा निर्वाचित रामवीर मानन्धरले राजीनामा दिएपछि उनको क्षेत्रमा वामदेवलाई चुनाव लड्न बाटो खुलेको हो ।

दशैंतिहारपछि चुनाव हुने जिकिर गर्दै नयाँ पत्रिकाले अगाडि लेखेको छ– बुधबार दशैंको घटस्थापना शुरु भएकाले दशैंतिहारपछि उपनिर्वाचन गर्ने तयारी भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार ठूला चाड सकिएपछि मंसिरमा निर्वाचन गर्ने गृहकार्यमा सरकार लागेको छ । पुस महिनामा धेरै जाडो बढ्ने भएकाले मंसिरमै उपनिर्वाचन सकाउने योजना बनाएको छ ।

वामदेव काठमाडौं–७ बाट निर्वाचनमा खडा हुने भएपछि त्यहाँका उम्मेदवारबारे समेत चर्चा शुरु भएको नयाँ पत्रिकाले लेखेको छ । नयाँ पत्रिकाका अनुसार चर्चामा कांग्रेसबाट प्रकाशशरण महत, धनराज गुरुङ र विश्वप्रकाश शर्माको नाम छ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उम्मेदवार दिने योजना बनाइसकेका छन् ।

उता रामवीरले भने राष्ट्रियसभा र मन्त्री बन्ने आश्वासनपछि राजीनामा गरेको संकेत गरेका छन् । उनले नयाँ पत्रिकासँग भनेका छन्– म राष्ट्रियसभामा जान सक्छु, मन्त्री पनि बन्न सक्छु ।’

‘गौतमका लागि उपनिर्वाचनः काठमाडौं ७ खाली’ शीर्षक दिएर मुख्य समाचार लेखेको कान्तिपुरले राज्यकोषको करोडौं खर्च गरेर उपनिर्वाचन गर्न लागेको भन्दै आलोचना गरेको छ ।

नागरिकमा वामदेवलाई काठमाडौं ७ मा चुनाव लडाउने तयारी गरिएपछि नेकपामा असन्तुष्टि चुलिएको, स्थानीय सरकार चुरे दोहनमा सक्रिय बनेकोलगायत खबर छन् ।

अन्नपूर्णले सांसद् पद छाड्दा रामवीर मानन्धर उल्टै प्रसन्न भएको लेखेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *