Uncategorized

कांग्रेस नेता सिटौला, सिंह र केसी बैठक बहिस्कारको पक्षमा

२३ असोज, काठमाडौं । नेविसंघको विधानलाई लिएर पार्टी निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका नेपाली कांग्रेसका तीन प्रभावशाली नेताहरुले आसन्न केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने भएका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल दुविधामा देखिएका छन् ।

कांग्रेसले असोज २५ गते केन्द्रीय समिति बैठक बोलाएको छ, यो बैठकमा नेविसंघको विधानबारे छलफल हुनेछ ।

तर, कांग्रेसको अघिल्लो बैठकले नेविसंघ विधानको एउटा धाराका रुपमा रहेको ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरिसकेको छ । यो निर्णयमा रामचन्द्र पौडेलसँगै कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुनरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

आगामी बैठकमा जाने नजाने छलफल गर्न पौडेल र सिटौला समूहका नेताहरु सोमबार भेला भएका थिए । तर, बैठक बहिस्कारमा एकमत नभएको एक सहभागीले बताए ।

स्रोतका अनुसार सिटौला, प्रकाशमान र अर्जुनरसिंह केसी बैठक बहिस्कार गर्ने पक्षमा छन् । रामशरण महतले बैठकमा जानुपर्ने धारणा राखे भने पौडेलले प्रष्ट मत राख्न सकेनन् ।

‘हामीले जुन कुरा उठाएर नोट अफ डिसेन्ट लेखेको हो, त्यसलाई निरन्तरता दिने हो भने केन्द्रीय समिति बैठकमा जानुको औचित्य छैन’ नेता अर्जुनरसिंह केसीले अनलाइनखबरसँग भने ।

आफूहरुको विरोध ३२ वर्षे उमेर हद नभई पार्टी नेतृत्वको स्वेच्छाचारी प्रवृत्ति भएको उनको दाबी छ ।

कांग्रेस भ्रातृ संगठनले विधान आफैं बनाउँछन् र कांग्रेसको केन्द्रीय समितिले अनुमोदन गरेपछि लागू हुन्छ ।

नेविसंघको ११ औं महाधिवेशनले १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको थियो । तर, पौडेल र सिटौला पक्षीय विद्यार्थीहरुको बहुमत रहेको केन्द्रीय समितिले त्यसलाई हटाएर विधान अनुमोदनका लागि कांग्रेस केन्द्रीय कार्यसमितिमा पठायो ।

नेविसंघले पठाएको विधान बैठकमा पेश नै नगरी चोर बाटोबाट अर्को विधान ल्याएको भन्दै पौडेल र सिटौला समूहले विरोध गरेका हुन् । ‘विगतको परम्परा विपरीत भ्रातृ संस्थामा हस्तक्षेप गरिएको छ । स्वेच्छाचारी र खराब नियतले अर्कै विधान ल्याइएको छ । त्यसको विरोध गरेका हौं’ केसीले भने, ‘यो ३२ वर्षे उमेर हदको प्रश्नै होइन ।’

पौडेल र सिटौला समूहका नेताहरु पार्टीर् सभापथि देउवा निरंकुश ढंगले अघि बढ्न लागेको दाबी गर्छन् ।

नेता सिटौला २५ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने सन्देश दिएर मंगलबार नै विराटनगर प्रस्थान गरेका छन् । ‘नेविसंघ एउटा टेस्ट केस मात्र हो । देउवा पक्ष सभापतिलाई निरंशकुश बनाउने रेडिमेड विधान केन्द्रीय समितिमा यसैगरि पास गरेर महासमितिमा लैजान चाहन्छ’ सिटौला निकट स्रोतले भन्यो, ‘पार्टी कब्जा गर्ने योजनाको मतियार हुन्न भनेर उहाँले बैठक बहिस्कार गर्ने निर्णय लिनु भएको हो ।’

वरिष्ठ नेता पौडेल बैठक बहिस्कार गर्ने नगर्ने निर्णयमा पुगिसकेको छैनन् । उनले भोलि आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *