Uncategorized

पुनर्निर्माणका लागि खटाइएका इन्जिनियर क्याम्पसमा !

२३ असोज, काठमाडौं । भूकम्पबाट क्षति भएका संरचनाहरुको निर्माणमा खटिएका इञ्जिनियरलगायतका प्राविधिक कर्मचारी कार्यक्षेत्रमा नगएर नियमित कलेज अध्ययन गरिरहेको भेटिएको छ । प्राविधिक कर्मचारीले जिम्मेवारीवहन नगरेको भेटिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसमाथि छानबिन थालेको छ ।

भूकम्पबाट प्रभावित जिल्लाको पुनर्निर्माणका लागि इन्जिनियर, सब–इन्जिनियर, असिस्टेन्ट पदमा करिब ३ हजार कार्यरत छन् । तर १ वर्षे करारमा नियुक्त प्राविधिक कर्मचारी भूकम्पपीडित आवास निर्माणमा नजाने गरेको गुनासो प्राधिकरणमा दैनिकजसो आउने गरेको छ । यद्यपि, उनीहरुले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीसँग मिलेर नियमित हाजिर देखाउँदै तलब भत्ता भने बुझ्दै आइरहेका छन् ।

प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले खटिएका प्राविधिक कर्मचारीले तोकिएको जिम्मेवारी वहन नगरेको गुनासो बढेपछि प्राधिकरणले यसबारे छानबिन थालेको जानकारी दिए । घिमिरेका अनुसार कामचोर प्राविधिक कर्मचारी कति छन् भन्ने तथ्यांक भने यकिन भइसकेको छैन । यसबारे छानबिन भइरहेकाले छिट्टै यकिन तथ्यांक सार्वजनिक हुने उनको भनाइ छ ।

‘भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणको संवेदनशील कार्यको जिम्मेवारी वहन गर्ने गरी नियुक्त प्राविधिक कर्मचारीहरु विभिन्न शैक्षिक संस्थामा नियमित अध्ययन गरिरहेको भेटिएपछि प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ’, घिमिरेले अनलाइनखबरसँग भने, ‘यसमाथि छानबिन गरेर दोषीमाथि कारबाही गर्छौं ।’

प्राविधिक कर्मचारीहरुलाई स्थानीय तहले काममा खटाउँदछन् । कामचोर प्राविधिक कर्मचारीलाई स्थानीय तहका पदाधिकारी तथा अधिकारीले नियमित हाजिर गराएको भन्दै प्राधिकरणले उनीहरुमाथि समेत कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणका सह–प्रवक्ता घिमिरेका अनुसार त्यस्ता कर्मचारीहरुलाई अवस्था हेरेर अवकाश दिनेसम्मको कारबाही हुनसक्छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *