Uncategorized

उपचारपछि आफ्नै खुट्टाले टेक्न सक्ने भए लक्ष्मण

२२ असोज, गोरखा । पालुङटार नगरपालिका-९ धुवाकोटका लक्ष्मण बराम आफ्नो खुट्टाले नै टेकेर उभिएलान् र पाइला चाल्छन् भनेर परिवार र गाउँका धेरैले कल्पना गरेका थिएनन् ।

१३ बर्षका बराम अहिले आफ्नै खुट्टाले टेकेर सामान्य हिँडडुल गर्न सक्ने भएका छन् । जन्मजात अपांगता भएका उनी यसअघि सामान्य हिडडुल समेत गर्न नसक्ने अवस्थामा थिए ।

घरमा भित्र बाहिर गर्न पनि उनलाई बोकेर सहारा दिनुपर्थ्यो । करिव आधा घण्टाको दूरीमा रहेको विद्यालय उनलाई बहिनी सुस्मिताले बुई बोकेर लैजाने गर्थिन् । बरामका दाजुबहिनीबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएसँगै उनीहरुका लागि सहयोगी हातहरु जुट्न थालेका हुन् ।

सिएमसी नेपाल मार्फत डिएफआइडीको सहयोगमा बनेपामा उपचार भएपछि उनको पाइला चल्न थालेका छन् । देश विदेशमा रहेका संस्था एवं व्यक्तिले उनीहरुलाई सहयोग गरिरहेका छन् । आर्थिक सहयोगदेखि शैक्षिक सामाग्री, खाद्य सामग्रीहरु पनि वितरण भइरहेको बराम अध्यनरत मदनेडाँडा माविका प्रधानाध्यापक रुद्रप्रसाद उप्रेतीले बताए ।

सोमबार पनि बरामलाई आर्थिक सहयोग प्राप्त भएको छ । गोरखा नगरपालिका-६ दरवारमार्ग स्थायी घर भइ हाल अमेरिका बस्दै आएका डा. रघु अर्यालले उनलाई दश हजार रुपैयाँ सहयोग गरेका छन् । विद्यालयमा पुगेर अर्यालका भाइ किरण अर्यालले लक्ष्मणकी हजुरआमा सुनमाया बरामलाई उक्त नगद हस्तान्तरण गरेका छन् । बरामको पठनपाठनमा सघाउन पुर्‍याउने उद्देश्यले सहयोग गरिएको अर्यालले बताए ।

बरामको अहिले पनि उपचार चलिरहेको छ । केही समय अघि उनको खुट्टाको अप्रेशन समेत भएको थियो । त्यसपश्चात उनी उभिन र सामान्य हिडडुल गर्न सक्ने भएका हुन् । थप उपचार भएसँगै उनलाई हिडडुल गर्न कुनै समस्या नहुने चिकित्सकहरुको भनाइलाई उधृत गर्दै हजुरआमा सुनमायाले बताइन् ।

‘अब केही दिनपछि सुइ लगाउन लानुपर्छ, आठ वटा सुइ लगाउने रे, त्यो लगाएपछि सजिलै हिँड्न सक्छ भनेका छन् डाक्टरहरुले,’ उनले भनिन् । बरामले सामान्य हिँडडुल गर्न सक्ने भएपछि धेरै सहज भएको उनी बताउँछिन् । ‘पहिले बस्न खान, दिसा पिसाब गर्न पनि समस्या हुन्थ्यो, बोकेर भित्र बाहिर गराउनुपर्थ्यो तर अहिले सहज भएको छ,’ उनले भनिन् ।

घर र विद्यालयको दुरी टाढा भएपछि बारमका दाजु वहिनी बिद्यालय नजिकै कोठा लिएर बसेका छन् । उनीहरुको स्याहारसुसारका लागि हजुरआमा पनि उनीहरु सँगै बस्छिन् । कोठा भाडा र अन्य खर्च पनि उनीहरु आफूले तिर्नुपर्दैन । त्यसका लागि विभिन्न दाताले सहयोग गरेका छन् ।

अपाङ्गता भएका बराम र उनकी वहिनीलाई छाडेर छाडेर आमा अन्तै गएपछि उनीहरु हजुरआमा र हजुरवुवाको संरक्षणमा छन् । उनीहरुका बुवा मीनबहादुर पनि अपाङ्ग छन् । उनी जसोतसो मजदुरी गरेर परिवारको जीविकोपार्जन गरिरहेका छन् । उनी हाल भक्तपुरको ऊनी कारखानामा काम गर्छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *