२१ असोज, काठमाडौं । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मडि्रडसँग अंक दूरी बनाउने अवसर पाएको छ ।
आइतबार राति साढे १२ बजे भ्यालेन्सियासँग हुने खेल जित्न सके बार्सिलोनाले तीन अंकको अग्रता बनाउने छ । शनिबार रियल मड्रिड अलाभेससँग पराजित भएपछि आठ खेलबाट १४ अंक भएको छ । बार्सिलोनाको ७ खेलबाट नै १४ अंक छ र गोलका आधारमा शीर्ष स्थानमा छ ।
ला लिगामा गएको तीन खेलमा जितविहीन रहेको बार्सिलोनाले तालिकाको १६ औं स्थानमा रहेको भ्यालेन्सियाविरुद्ध आफ्नो लय फर्काउन पनि आवश्यक छ । हुन त बार्सिलोना त्यो समय पुछारमा रहेको लेगानेससँग पराजित भएर सिजनकै पहिलो हार पाएकाले कुनै टिम पनि सहज हेर्न मिल्ने देखिँदैन ।
लेगानेससँग पराजित हुनुअघि पनि बार्सिलोनाले जिरोनासँग बराबरी खेलेको थियो । त्यसपछि एथ्लेटिको बिल्बाओसँग पनि बराबरी खेलेको बार्सिलोना ला लिगामा गएको सिजनभन्दा कमजोर देखिएको छ ।
आइतबार राति हुने खेल भ्यालेन्सियाको घरेलु मैदान मास्टेलामा हुने भएकाले पनि बार्सिलोनलाई सहज हुने छैन ।
च्याम्पियन्स लिगमा टोटनहामलाई ४-२ ले हराएको बार्सिलोन र म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेको भ्यालेन्सिया दुवै बलियो मनस्थितिमा समेत छन् ।
ला लिगामा पछिल्लो पाँच खेलमा भ्यालेन्सिया पराजित भएको छैन । ४ खेल बराबरी खेलेको भ्यालेन्सियाले एक खेल जितेको छ । बार्सिलोना पछिल्लो पाँच खेलमा दुईमा विजयी भएको छ भने दुई बराबरी र एक हार व्यहोरेको छ ।



