Uncategorized

भारतबाट औषधीजन्य लागूऔषध भित्र्याउने गिरोहका नाइके समातिए

१९ असोज, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिणाममा नियन्त्रित मनोद्दिपक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको बिराटनगर–१५ घर भइ काठमाडौं–२ बस्दै आएका ४५ वर्षीय अरुण थापा र भोजपुरको षडानन्द–११ का २४ वर्षीय अम्बरबहादुर राई छन् ।

उनीहरुको साथबाट ५ हजार १ सय २५ एम्पुल डाइजेपाम, फेनारगन र बुप्रिनर्फिन बरामद भएको ब्यूरोका निमित्त प्रमुख एसएसपी विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए ।

उनीहरुलाई काठमाडौं–१५ बाट पक्राउ गरिएको हो ।

थापा पटके कारोबारी

प्रहरीका अनुसार लागूऔषधसहित पक्राउ परेका थापा पटकपटक लागूऔषध मुद्दामा पक्राउ पर्दै छुट्दै गरेका व्यक्ति हुन् ।

उनी भारतबाट औषधीजन्य मनोद्दिपक पदार्थ काठमाडौं भित्राएर त्यसको अवैध कारोबारमा संलग्न गिरोहको मुख्य व्यक्ति भएको ब्यूरोले जनाएको छ ।

उनलाई यसअघि ब्यूरोको टोलीले १ जेठ ०६३ मा ४४ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको थियो । त्यो मुद्दामा उनलाई १० वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना भएको थियो । उनी ०७३ साल माघमा छुटेका थिए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको एसएसपी पोखरेलको भनाइ छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *