Uncategorized

जहाँ लोपेटेगीको चित्त सबैभन्दा बढी दुख्यो

१८ असोज, काठमाडौं । हरेक शिक्षकको पढाउने आफ्नै तरिका हुन्छ । फुटबल प्रशिक्षक पनि त्यस्तै नै हुन् । विशेष बानीले उनीहरुको शैलीमा प्रभाव परिरहेको हुन्छ ।

प्रशिक्षक जुलेन लोपेटेगीले स्पेनिस क्लब रियल मडि्रडलाई अहिलेसम्म १० खेलमा प्रशिक्षण दिए । हरेक खेलमा पहिलो मिनेटदेखि नै प्रभाव देखाउन उनले मेहनत पनि गरेका छन् । तर, सफलता सबैमा मिल्दैन नै ।

केही खेल नराम्रो हुनु त सामान्य नै हो । तर, उनले मैदानमा गर्न खोजेको कुरामा उत्कृष्ट तालमेल मिल्न सकेको छैन । यसैले उनी अहिले एक किसिमको कष्टमा छन् । ड्रेसिङ रुम पनि उनले चाहेको जस्तो भइरहेको छैन ।

पहिलो अफिसियल खेलका बेला युरोपियन सुपर कपमा एथ्लेटिको मड्रिडसँगको खेलमा डिएगो कोस्टाले रियल मड्रिडलाई सुरुवातमै पछाडि पारिदिए । प्रशिक्षक लोपेटेगीले त्यसबाट बाहिरिने प्रयास गर्दा गर्दै खेल गुम्यो ।

ला लिगाको पहिलो खेलमा गेटाफेसँग २-० को जित मिल्यो । त्यसपछिको खेलमा जिरोनासँग १६ औं मिनेटमा नै गोल खाएर पनि रियल मडि्रडले चार गोल गर्न सफल भएको थियो । लेगानेसलाई पनि ४-१ ले नै हरायो ।

ला लिगामै एथ्लेटिको बिल्बाओसँग १-१ को बराबरी भयो । स्पानियोललाई १-० ले हराएको मडि्रड सेभियासँग भने नराम्ररी पराजित भयो । पहिलो हाफमा नै तीन गोल गरेर सेभियाले हराएको थियो । त्यसपछि एथ्लेटिको मड्रिडसँग गोलरहित बराबरी भयो ।

च्याम्पियन्स लिगको पहिलो खेलमा रोमालाई ३-० ले हराएको रियल मड्रिड दोस्रो खेलमा सीएसकेए मस्कोसँग १-० ले पराजित भयो । दोस्रो मिनेटमा नै गोल खान पुगेको रियल मडि्रड त्यसपछि खेलमा फर्कन सकेन ।

मस्कोविरुद्ध रियल मडि्रडका इस्को, मार्सेलो, ग्यारथ बेल, सर्जियो रामोस थिएनन् । राम्रो बेञ्च लाइन भएको मडि्रड खेलमा र्फकन नसक्दा प्रशिक्षकको प्रयोग फेल खाएको थियो । यसैले खबरहरु आएका छन्, लोपेटेगीको निर्देशन ड्रेसिङ रुममा खेलाडीहरुले बुझ्न सकेनन् ।

समग्रमा लोपेटेगीको रियल मड्रिड प्रशिक्षण राम्रै भइरहे पनि च्याम्पियन्स लिगमा मस्कोसँगको हारमा उनको चित्त दुःखेको थियो । १० खेलमा भएको तेस्रो हार ठूलो नभए पनि गर्न खोजेको कुरा नमिल्नु दुःखको कुरा हो । जसले फ्लोरेन्टिनो पेरेजको समयमा लोपेटेगीको छवि राम्रो हुन सकेको छैन ।

हारका दोष कोही एकमा निर्भर नहुने भए पनि प्रशिक्षकमाथि उठेका प्रश्नले लोपेटेगी सोचमा परेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *