Uncategorized

घुम्ती कफी सपः पुरानो भ्यानमा नयाँ काम

१८ असोज, काठमाडौ । निःसन्देह नेपालमा कफीका पारखीहरु बढिरहेका छन् । पहिले-पहिले सम्भ्रान्त वर्गमा सीमित यो पेय पदार्थ आजकाल मध्यम वर्गमा पनि कम लोकप्रिय छैन ।

यही लोकप्रियतालाई हेरेर एक जोडी युवाले नौलो अभ्यास थालेका छन् । ‘कफी टु गो नेपाल‘ नाममा उनीहरु गाडीमै कफी बेच्छन् । यो नेपालकै पहिलो घुम्ती कफी सप भएको उनीहरुको दाबी छ ।

गोंगबुका किसान गुरुङ र सिन्धुपाल्चोकका निरन श्रेष्ठ १३ वर्ष अगाडि कक्षा ११ मा सँगै पढ्थे । तर, स्नातक पढ्ने क्रममा छुट्टएि । स्नातक सकेेपछि गुरुङ कफी बनाउने तालिम लिएर काठमाडौंका विभिन्न पसल चहार्न थाले । श्रेष्ठले सिभिल मलको मार्केटिङ् विभागमा जागिर खाए ।

यस बीचमा गुरुङले एकपटक सिङ्गापुर घुम्ने अवसर पाए । त्यहाँ उनले गाडीमा कफी बेचिरहेको देखे । उनले सोचे कि नेपालमा पनि यसरी कफी बेच्न किन सकिँदैन ?

काठमाडौं फर्किएपछि उनले श्रेष्ठलाई यही विचार सुनाए । श्रेष्ठलाई पनि गुरुङको कुरा मन पर्‍यो । अनि सुरु भयो सहकार्य । तीन महिना छलफलमा बिताएका उनीहरुले व्यवसायका लागि करिब १० लाख लाग्ने अनुमान गरे । तर, उनीहरू दुवैसँग पैसा थिएन । ‘त्यसैले हामीले स्टेप बाई स्टेप लगानी थप्दै जाने निधो गर्‍यौं,’ श्रेष्ठले सुनाए ।

पहिलो चरणमा उनीहरुले एउटा थोत्रो भ्यान किने, साढे तीन लाखमै । कफी मेसिनलाई राम्ररी अड्याउनका लागि करिब एक लाख २० हजार खर्चिएर भ्यानको पछाडिको भागमा डन्डी र पाताहरू राखियो । त्यसपछि डबल हेड मेसिन किने ।

श्रेष्ठका अनुसार यस व्यवसायमा हालसम्म १२ लाख लगानी भएको छ । अब दशैंपछि व्यवसायलाई तीव्ररूपमा विस्तार गर्ने योजना उनीहरुले बनाएका छन् । ‘अब हामी फलफूलको रस पनि बेच्ने योजनामा छौं,’ गुरुङ भन्छन् ।

यो घुम्ती कफी पसलमा हाल अमेरिकानो, क्यापुचिनो, लाटे, एस्प्रेसो, आइस्ड अमेरिकानो र आइस्ड लाटे गरी ६ प्रकारका कफी पाइन्छन् । यो घुम्ती पसलले बेच्ने कफी अन्य पसलको तुलनामा सस्तो छ । ‘तपाईंले अन्यत्र एक कप कफीका लागि १४० रुपैयाँ तिनुपर्छ भने हामी त्यही क्वालिटीको कफी ४० रुपैयाँमा बेच्छौं,’ श्रेष्ठ दाबी गर्छन्, ‘यो असम्भव कुरा होइन, किनकी एक कप कफी बनाउन करिब २५ रुपैयाँ लगानी गर्नुपर्छ । पसलमा भाडा र फर्निचर सबैको खर्च उठाउनुपर्ने हुन्छ ।’

यो जोडीले घुम्ती पसलबाहेक अर्को एउटा कफी पसल खोल्ने योजना बनाएको छ । काठमाडौंको कुनै सपिङ मलमा हुने यो पसलले घुम्ती पसल जस्तै सस्तो दरमा कफी बेच्नेछ ।

यो योजना लागू भयो भने काठमाडौंको सहरी क्षेत्रका ग्राहकहरूका लागि अतिरिक्त शुल्क विना सस्तो कफी घरघरमै पुर्‍याइनेछ ।

सुरुवाती आठ महिना बजार परीक्षणमा बितेको श्रेष्ठ बनाउँछन् । ‘अहिलेसम्म हामीले धेरै मान्छे जम्मा हुने कन्सर्ट, विशेष अवसरका बजारहरू र धार्मिक मेलामा मात्र भ्यान लगिरहेका छौँ । कहिलेकाँही कुनै कलेजले बोलाउँछन् र हामी जान्छौं,’ उत्साही भावमा श्रेष्ठ भन्छन्, ‘तैपनि हामीले आधा जति लगानी उठाइसक्यौं ।’

कलेजमा कफी बेच्दा उनीहरुले नियमित ग्राहकलाई छुट पनि दिन्छन् । नौ कप कफी किन्नेले दसौं कप सित्तैमा पाउँछ । पछिल्लो समय काठमाडौं बाहिरका केही व्यापारीले ‘कफी टु गो नेपाल’का नाममा फ्रेन्चाइज दिन माग गरिरहेको उनीहरुले बताए ।

‘तर हामी अहिले फ्रेन्चाइज बेच्ने अवस्थामा छैनौं । त्यसभन्दा पहिला त हामी काठमाडौंमै पूर्ण सञ्चालनमा आउनुपर्छ,’ श्रेष्ठ भन्छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *