१८ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले नागढुंगाको जामदेखि चुरे विनाश, पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगायत विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
पहिलो पृष्ठमै अपार्टमेन्टलाई अस्पताल बनाउन चलखेल भएको, भारतले बाटो बन्द गरिदिएपछि सुस्ताबासी विस्थापित भएको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिरमा फेरि जनकपुर आउन लागेकोलगायत समाचार छन् ।
नागढुंगा सडकको जामबारे आजका सबैजसो दैनिक पत्रिकाहरुले लेखेका छन् । सडक मर्मतका कारण ४५ किलोमिटरसम्म सवारी जाम पर्न थालेको छ । काठमाडौंदेखिको ट्राफिक जाम पृथ्वी राजमार्गमा पर्ने थाक्रे गाउँपालिकाको सात किलोभन्ने स्थानसम्म पुगेको हो ।
अन्नपूर्ण, राजधानी, नागरिकले लामो जामका कारण एम्बुलेन्समै बिरामीको मृत्यु भएको लेखेका छन् । चितवनको भरतपुरबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेको बिरामीलाई समयमै अस्पताल पुर्याउन नसक्दा बाटोमै ज्यान गएको हो ।
नागरिकका अनुसार नागढुंगा सडक पार गर्न घन्टौं लागेपछि चितवनको सौराह निवासी ५५ वर्षीया रजनी चौधरीको एम्बुलेन्समै ज्यान गएको छ । भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि चौधरीलाई काठमाडौं रिफर गरिएको थियो । चौधरीलाई बोकेर आएको एम्बुलेन्सले मुस्किलले पृथ्वी राजमार्ग पार गरेको थियो । त्रिभुवन राजपथमा पर्ने धुनीबेसी नगरपालिकाको टायलघरमा पुगेपछि चार घन्टासम्म जाममा बस्नु परेको थियो । जाममै फसेका बेला बिरामी बुधबार बिहान करिब १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
नागढुंगाको जामबारे मुख्य समाचार लेखेको अन्नपूर्णले सुस्तावासी विस्थापित भएकोलाई एंकर बनाएको छ ।
सुस्ताको अतिक्रमित भूमिमा भारतले पछिल्लो समय नेपाली आवतजावत गर्ने बाटो अवरुद्ध गरेपछि सुस्ताबासी न्याय खोज्दै काठमाडौं आएका छन् ।
समाचार अनुसार भारतले खाल्डो खनेर बाटो अवरुद्ध गरिदिएपछि सुस्ताका विद्यार्थीलाई विद्यालय जान कठिनाइ भएको छ । सर्वसाधारण नियमित हाटबजार जान पाएका छैनन् । नारायणी नदीमा पुल नबन्दा सुस्ताबासी भारतीय भूभागको बाटो प्रयोग गर्न बाध्य छन् ।
२५ महिलासहित राजधानी आएका ६० जना सुस्ताबासी ९ दिनदेखि थापाथलीस्थित कालमोचन घाटमा बसेर समस्या समाधान गर्न माग गरिरहेका छन् ।
नागरिकले अपार्टमेन्टलाई अस्पताल बनाउन चलखेल भएको लेखेको छ ।
आवासीय प्रयोजनका लागि निर्माण गरिएको काठमाडौं घट्टेकुलोस्थित अपार्टमेन्टलाई अस्पताल सञ्चालन अनुमति दिन स्वास्थ्य मन्त्रालयमा व्यापक चलखेल शुरु भएको दाबी नागरिकको छ ।
नागरिक लेख्छ– काठमाडौं नेसनल मेडिकल कलेज प्रालिले अस्पताल सञ्चालन स्वीकृति पाऊँ भनी दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाउन गठित स्थलगत अनुगमन टोलीले बुझाएको प्रतिवेदनलाई बेवास्ता गर्दै अस्पताल सञ्चालन स्वीकृति प्रदान गर्न लागिएको हो ।
कान्तिपुरमा विकास भन्दै चुरे विनाश गर्न लागिएको, सांसदले बजेट आफूखुसी खर्चन पाउने भएकोलगायत समाचार छन् ।



