काठमाडौं । विश्व फुटबलको महाशक्ति ब्राजिल गत विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरियो । जबकि उसलाई उपाधिको प्रमुख दावेदार मानिएको थियो ।
यस विषयमा धेरै समयपछि प्रतिक्रिया दिँदै ब्राजिलका स्टार नेइमारले विश्वकपको हारबाट आफू निराश बनेकोे बताएका छन् । पेरिस सेन्ट जर्मेनका स्ट्राइकरले भने, ‘मैले विश्वकपमा सक्दो प्रयास गरेको हुँ । व्यक्तिगतरुपमा उत्कृष्ट खेलेँ तर सोचेको परिणाम दिलाउन सकिनँ । त्यसैले निराश छु ।’
तर, यही हारलाई लिएर जीवनभर बिलाप गरेर नबस्ने उनले बताए । ‘आजकाल मैले दुखी हुनेभन्दा खुशी हुने कारण धेरै छन्,’ उनले भने ।
च्याम्पियन्स लिगको समूह चरणको आगामी म्याचमा नेइमारको पीएसजीले रेड स्टारको सामना गर्दैछ । ब्राजिलियन स्टारले आफू सो म्याचमा कुन पोजिसनबाट खेल्न चाहन्छन् भन्ने पनि प्रष्ट पारे ।
‘म १० नम्बर का रुपमा खेल्न मन पराउँछु किन भने म खेललाई आफ्नो नियन्त्रणमा राखेर साथीहरुलाई सहयोग गर्न सक्छु,’ उनले भने ।
यद्यपि, यो पोजिसन आफू स्वयम्ले नभएर प्रशिक्षकले नै दिएको उनले बताए । उनले आफू मेस्सीसँग तुलना हुन नचाहेको पनि बताए । आफ्नो टिममेट किलियन एम्बाप्पेको भने प्रशंसा गरे ।



