Uncategorized

नेपाल-चीन सम्बन्ध नयाँ उचाइमाः राजदूत होङ

१३ असोज, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी छिन् । जनगणतन्त्र चीन स्थापनाको ६९ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राजदूत होङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६३ वर्षको अन्तरालमा दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी हुन् ।

नेपालका लागि चीनका राजदूत यू होङले आयोजना गरेको समारोहमा उनले बितेका ६९ वर्षमा चीनले सामाजिक र आर्थिक विकासमा फड्को मारेको चर्चा नेपाल र चीनले समानता, पारस्परिक लाभ र सम्मानमा आधारित रहेर सहकार्य गर्दै आएको बताइन् ।

साथै चीनले नेपालको भौतिक पूर्वाधार, ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, कृषि, शिक्षा तथा संस्कृति, पर्यटन, सम्पदा संरक्षणलगायत क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी पनि गराइन् । यातायात सन्जालको क्षेत्रमा पनि चिनियाँ सहयोग रहने बताइन् ।

सम्बोधनको क्रममा राजदूत होङले नेपालले हालै उपहार दिएको गैंडाले दुई देशबीच सम्बन्ध बिस्तारको लागि दूतको रुपमा काम गरेको चर्चा पनि गरिन् ।

विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी थिए । कार्यक्रम नेपाल र चीनको राष्ट्रिय गानबाट सुरु गरिएको थियो ।

समारोहमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ, भीम रावल, अग्नि सापकोटा, कांग्रेस नेताहरु डा. रामशरण महत, डा. प्रकाशशरण महत, राजपा नेता राजेन्द्र महतो लगायत उपस्थित थिए ।

संवैधानिक अंगका प्रमुख, सुरक्षा अंगका प्रमुख, प्रदेश प्रमुखहरु, मुख्यमन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख तथा उद्योगपति, व्यापारी, चिनियाँ नागरिकका साथै नेपालका सञ्चारकर्मीहरुको पनि उपस्थिति थियो ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *