१३ असोज, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा शनिबार बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५६२९ नम्बरको बस विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी बसचालक बाँके कोहलपुर नगरपालिका–४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, चार जनाको मध्यविन्दु अस्पताल डण्डामा र १७ जनाको कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।



