Uncategorized

वीरगञ्जका मेयरको स्वीकारोक्ति : सोचेजस्तो काम गर्न सकिएन

१२ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले सोचेजस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् ।

मेयरमा निर्वाचित भएलगत्तै ५० वर्षमा नभएको विकास ५ वर्षमा गरेर देखाउने प्रतिबद्धता गरेका उनले सोचे अनुसारको काम गर्न नसकेको स्वीकारेका हुन् ।

जनशक्तिको अभाव र नीति नियमको अस्पष्टताका कारण काम गर्न नसकिएको उनको भनाइ छ । निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले महानगरपालिका घोषणा गरिएपनि सो अनुसारको जनशक्ति, स्रोत र साधन उपलब्ध नगराइएको गुनासो गरे ।

‘वीरगञ्ज महानगरपालिकामा १ जना सहसचिव, ९ जना उपसचिव र ७१ जना शाखा अधिकृतको दरबन्दी रहेकोमा अहिले एक जना सहसचिव, १ जना उपसचिव र ५ जना शाखा अधिकृतमात्रै पठाएको छ’ उनले भने ‘स्थानीय निकायमा विगतदेखि कार्यरत १८ जना अधिकृतस्तरका कर्मचारी र निजामती तर्फका अधिकृतसमेत गरी ७२ जना अधिकृत स्तरका कर्मचारी रिक्त छ । तैपनि हामीले सकेको काम लिइरहेका छौं ।’

आन्तरिक आयमा एक दशकदेखि वृद्धि हुन नसकेको, पहिलो नगरसभाबाट ठोस नीति तथा कार्यक्रम ल्याएको भए पनि पर्याप्त तयारीको अभावमा कार्यान्वयन गर्न नसकेको, राजश्वलाई ७४ करोड पुर्‍याउने नीति लिए पनि विरोधका कारण पछि हट्नु परेको आदि कारणले सोचेजस्तो काम गर्न नसकेको मेयर सरावगीको भनाइ छ ।

तैपनि सुशासन, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण, भौतिक निर्माण, पर्यटन, सरसफाइ र हरियाली प्रवर्द्धनमा उल्लेखनीय काम भएको उनको भनाइ छ ।

महानगरपालिकाले छोटो समयमै १२ वटा ऐन, ३ वटा नियमावली, ९ वटा कार्यविधि र एउटा रणनीति तयार गरि लागु गरिरहेको मेयर सरावगीले बताए ।

वीरगञ्जको आर्थिक विकास, विस्तार र अभिवृद्धिका लागि दुरदर्शी र वृहत्तर योजना अघि बढाउने मेयर सरावगीले जानकारी गराए ।

‘महानगरसँग पर्याप्त बजेट छैन, आन्तरिक स्रोतबाट उठ्नुपर्ने राजश्वसमेत लक्ष्यअनुसार उठाउन सकिएको छैन, सरकारले उपलब्ध गराउने अनुदानलेसमेत ठूला योजना सञ्चालन गर्न सक्ने अवस्था देखिदैन यस्तो अवस्थामा जन सहभागीतामा आधारित विकास निर्माणलाई प्राथमिकता दिने सोच हामीले लिएका छौं’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भुसालले महानगरपालिकाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको बताउँदै कसैबाट त्यस्तो गतिविधि भएको प्रमाणसहितको जानकारी आए कारबाही गर्ने बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *