१२ असोज, जनकपुरधाम । प्रदेश २ मा शुक्रबार एकै दिन ५० हजार बिरुवा रोपिदै छ । बिरुवा रोप्नको लागि प्रदेश २ का मुख्यमन्त्रीदेखि मन्त्री, राज्यमन्त्रीहरु प्रदेश २ का विभिन्न जिल्लामा पुगेका छन् ।
मुख्यमन्त्री लालबाबु राउत वीरगञ्ज पुगेका छन् भने आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव धनुषाधामस्थित संरक्षित वनमा वृक्षारोपण गर्ने कार्यक्रम छ ।
अन्य मन्त्री तथा कर्मचारीसमेत प्रदेश २ का विभिन्न जिल्ला पुगेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । वृक्षारोपणमा सहभागी हुन सरकारले सर्वसाधारणलाई समेत आग्रह गरेको छ ।
वृक्षरोपणका लागि ८ वटै जिल्लामा कर्मचारी समेत खटाइएको छ । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रत्येक जिल्ला १-१ जना कर्मचारी खटाइएको हो ।
प्रदेश २ को मन्त्री परिषदको ८ गते बसेको बैठकले हरित प्रदेश योजनालाई सार्थकता प्रदान गर्न असोज १२ गते एकै दिन प्रदेश भरिमा ५० हजार विरुवा रोप्ने निर्णय गरेको थियो । प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रमअनुसार हरित प्रदेश योजना कार्यान्वयनमा ल्याउन प्रदेशमा बिरुवा रोप्ने निर्णय गरेको हो ।
योसँगै हरित प्रदेश योजना कार्यक्रम अघि बढ्ने भएको छ । स्वच्छ वातावरणका लागि हरित प्रदेश योजनालाई सार्थकता दिन लागिएको हो । हरित प्रदेश योजना जिल्लाका सरकारी वनमा लागु हुने जनाइएको छ ।



