शैक्षिक गतिविधि

१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन

काठमाडाै‌,  माघ ९। त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेन्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको छ।

शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको थियो। तर, कतिपयले सेमेस्टरको परीक्षा सकेका छन् भने कतिपयले १० महिनासम्म पनि परीक्षा सम्पन्न गर्न सकेका छैनन्।

नतिजा कहिले आउने भन्ने कुनै टुंगो छैन। व्यवस्थापन संकायको डिन कार्यालय सबैभन्दा पछाडि परेको छ। त्रिविले स्नातकोत्तर तहमा केन्द्रीय विभागबाट सुरु गरेको सेमेस्टर प्रणाली उपत्यकाका आंगिक क्याम्पस कार्यान्वयन गरेको छ। तर, डिन कार्यालयले भने शैक्षिक क्यालेन्डरअनुसार जिम्मेवारी पूरा गर्न नसेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

शिक्षाध्यक्ष प्रा.डां. सुधा त्रिपाठीले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको, तर सबैले त्यसलाई कार्यान्वयन गर्न नसकेको बताइन्। गत वैशाखदेखि उपत्यकाका आंगिक क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सुरु गर्ने क्यालेन्डर दिए पनि कतिपयले ढिला गरी गरेको उनको भनाइ छ।

‘वैशाखदेखि सुरु गर्नुपर्नेमा कतिपयले असारबाट कक्षा सुरु गरे र अहिलेसम्म पूरा गर्न सकेका छैनन्,’ त्रिपाठीले भनिन्। डिन कार्यालयहरूमा अहिले सबैभन्दा पछाडि व्यवस्थापन संकायको डिन कार्यालय परेको छ। आंगिक क्याम्पसमा भर्नाको समयमा देखिएको विवादलगायतका कारण पनि क्यालेन्डर कार्यान्वयन गर्न नसकिएको हो।

त्रिपाठीका अनुसार ६ महिनामा परीक्षा लिइसक्नुपर्ने र अर्को सेमेस्टर सुरु भएपछि नतिजा सार्वजनिक हुनुपर्ने थियो।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *