जेठ३काठमाडौं -नेकपा एमाले र माओवादी केन्द्र एक भएसँगै नेपालमा इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टीको स्थापना भएको छ।
एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको एकता घोषणा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको हो ।
नयाँ दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। निवेदन दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेताहरू कान्तिपथस्थित आयोग कार्यालय पुगे।
नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ।नयाँ पार्टीमा ओली र दाहाल सहअध्यक्ष हुनेछन्। पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल पार्टीका बरिष्ठ नेता हुनेछन्। कम्युनिष्ट पार्टीको ९ सदस्यीय केन्द्रीय कार्यालय पनि बिहीबारै गठन भएको छ। ४५ सदस्यीय स्थायी समिति हुने कम्युनिष्ट पार्टीमा ४४१ जना केन्द्रीय सदस्य हुने छन्।
एमालेका तर्फबाट २४१ र माओवादी केन्द्रका २०० जना मिलाएर नयाँ केन्द्रीय समिति बनेको हो। त्यस्तै एमालेका २६ र माओवादीका १९ जना सम्मिलित ४५ सदस्यीय स्थायी समिति बनेको छ। शीर्ष ९ नेता सम्मिलित केन्द्रीय कार्यालय बनाइएको छ। केन्द्रीय कार्यालयमा रहने ९ नेताको वरीयता पनि टुंगो लागेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली सो वरीयताको शीर्ष स्थानमा छन्। दोस्रो वरीयतामा पुष्पकमल दाहाल रहनेछन्। त्यसैगरी तेस्रोमा माधवकुमार नेपाल, चौथोमा झलनाथ खनाल, पाँचौमा वामदेव गौतम, छैठौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा र नवौं स्थानमा बिष्णु पौडेल छन्। बिष्णु पौडेललाई पार्टीको महासचिव र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने सहमति भएको छ।
दुई पार्टीको एकीकरणसँगै नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको स्थापना भएको छ।
२००६ सालमा पहिलो पटक यही नाममा कम्युनिष्ट पार्टी स्थापना भएको थियो। समयक्रमसँगै फुट्दै र जुट्दै ६९ वर्ष गुजारेको कम्युनिष्ट पार्टी एमाले र माओवादी एकता भएसँगै शक्तिशाली बनेको छ। तीन महिनाभित्र जनवर्गीय संगठनको एकीकरण टुंग्याइने पार्टीले जनाएको छ।
वामपन्थी शक्तिमध्येमात्र होइन संघीय संसद, प्रदेश सभा र स्थानीय सरकारमा प्रतिनिधित्वका हिसाबले यो नेपालको इतिहासकै सबैभन्दा शक्तिशाली पार्टी भएको छ।
संघीय संसदका दुबै सदनमा यो दलसँग ६० प्रतिशतभन्दा बढी बहमुत छ।
माथिल्लो सदन राष्ट्रिय सभामा ५९ सदस्यमध्ये कम्युनिष्ट पार्टीका ३९ जना सांसद छन्। राष्ट्रपतिबाट नियुक्त तीन जना पनि जोड्दा यो संख्या ४२ पुग्छ।
तल्लो सदन प्रतिनिधि सभाका २७५ सांसदमध्ये यो दलसँग ६३.५ प्रतिशत अर्थात् १७४ जना सांसद छन्। राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधि सभाका सभामुख र उपसभामुख पनि यही दलका छन्।
मंसिरमा भएको प्रतिनिधि सभामा यो दलले झन्डै ४७ प्रतिशत लोकप्रिय मत पाएको छ। ९५ लाख ४४ हजार ७ सय ७९ मतमध्ये कम्युनिष्ट पार्टीले ४४ लाख ७७ हजार २ सय १५ मत पाएको छ।
प्रदेश नम्बर २ बाहेक ६ प्रदेशमा कम्युनिष्ट पार्टीको सरकार छ। ती ६ वटै प्रदेश सभामा सभामुख र उपसभामुख पनि यही पार्टीका छन्।
सात प्रदेशका ५५० प्रदेश सभा सदस्यमध्ये कम्युनिष्ट पार्टीका ३५१ जना सांसद छन्।
स्थानीय तहको चुनावमा एमाले र माओवादी छुट्टाछुट्टै लडेका थिए। ७५३ स्थानीय तहका ३५ हजार ४१ पदमध्ये १९ हजार ५ सय ४०मा कम्युनिष्ट पार्टीका जनप्रतिनिधि छन्।
२०१५ सालमा नेपालमा पहिलो पटक भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइभन्दा बढी सिट जितेको थियो। तर त्योबेला केन्द्र, जिल्ला तथा स्थानीय स्तरमा पार्टीको प्रतिनिधित्व तथा संगठनका हिसाबले कांग्रेस आजको एकीकृत कम्युनिष्ट पार्टीजस्तो बलियो थिएन।
गत असोजमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि दुई पार्टीबीच एकीकरणको प्रक्रिया सुरु भएको थियो। सो प्रक्रिया सुरु हुँदा माओवादी कांग्रेससँगको सत्ता साझेदार थियो भने एमाले प्रतीपक्षमा थियो।
असोज १७ गते छ बुँदे सहमति गरेर एमाले र माओवादी केन्द्रले चुनावी तालमेलको घोषणा गरे। चुनावलगत्तै पार्टी एकता गर्ने भनिए पनि एकता प्रक्रिया टुंगोमा पुग्न झन्डै ९ महिना लाग्यो।नेकपा एमाले र नेकपा माअाेवादी एकीकृत भै नेपाल कम्युनिष्ट पार्टीकाे स्थापना भै नयाँ युग शुरु भएकाे छ।