काठमाडौं । संविधानले गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने व्यवस्था गर्यो ।
राजनीतिक अधिकार बाहेक आर्थिक, समाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता लिन सकिने संवैधानिक व्यवस्था छ ।
तर, संविधानअनुसार नागरिकता ऐन संशोधन नभएका कारण गैरआवासीय नेपालीहरुले यो अधिकार पाएका छैनन् ।
त्यसलाई सम्बोधन गर्न सरकारले नागरिकता ऐन २०६३ संशोधन विधेयक संसदमा दर्ता गराएको छ । विधेयकअनुसार आफू, बाबु वा आमा, बाजे वा बज्यै नेपाली नागरिक रहेको र पछि विदेशी मुलुकको नागरिकता पाएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकता पाउने सक्ने छन् ।
प्रस्तावअनुसार गैरआवासीय नेपाली नागरिकता लिन चाहेको आफैं वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण पेश गर्नु पर्नेछ । अरु प्रमाणका साथै नेपालको संविधान र कानुन परिपालना गर्ने प्रतिवद्धता पत्र पनि पेश गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।