काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले गरेको राष्ट्रघातले नेपाली जनताको स्वाभिमानमा चोट परेको भन्दै आईतवार (बैशाख ३० गते ) नेपाल बन्द गरेको जनाएको छ ।
महासचिव विप्लवद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ -‘केपीको लम्पसारवादी सरकार र भारतिय साम्राराज्यवादी सरकारबीच भएको राष्ट्रघाती सन्धी,सम्झौता मोदीको नेपाल भ्रमणको क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोधमा नेपाल बन्द गरिएको छ ।’
विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध गरिएको छ । ‘राष्ट्रघातको पछिल्लो शृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनसिल र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।