Uncategorized

प्रहरी कार्यालय धमाधम पुनर्निर्माण, पालमा बस्नुपर्ने बाध्यता हट्यो

२१ कात्तिक, सिन्धुपाल्चोक । विनाशकारी भूकम्पमा कार्यालयहरु भत्किएपछि पालमा बसेर जनताको शान्ति सुरक्षाका लागि खटिदै आएका सिन्धुपाल्चोकका प्रहरीहरु यतिबेला भने सुविधासम्पन्न भवनमा बस्न थालेका छन् ।

२०७२ सालको भूकम्पमा जिल्ला प्रहरी कार्यालय सहित प्राय सबै भवन ध्वस्त भएका थिए । उनीहरुलाई लामो समयसम्म पालमा बसेर ड्युटी गर्नुपर्ने बाध्यता थियो ।

भूकम्पमा भत्किएका प्रहरी कार्यालयका भवनहरु केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणको अन्तिम चरणमा छन् । भूकम्पपछि निर्माण सुरु गरिएकामध्ये इलाका प्रहरी कार्यालय जलविरे, प्रहरी चौकी सानोसिरुवारी, ठोकर्पा, साँगाचोक र लामोसाँघु निर्माण सम्पन्न भइसकेका छन् । अन्य प्रहरी कार्यालयहरु पनि निर्माण सम्पन्न हुने क्रममा छन् ।

केही प्रहरी चौकीहरु भने बजेट भए पनि जग्गा अभावमा निर्माण हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

भूकम्प गएको एक वर्षपछि प्रहरी चौकीहरु सुविधासम्पन्न रुपमा निर्माण भइरहेको प्रमुख मरासिनीले बताए । जवानहरुको लागि ब्यारेक, महिला र पुरुषका लागि छुट्टाछुट्टै थुनुवा कक्ष, कार्यालय लगायतका संरचनाहरु नयाँ प्रहरी कार्यालयहरुमा रहेका छन् ।

जग्गा नहुँदा रोकिएका प्रहरी कार्यालयहरु बाहेक आउने वर्ष सबै प्रहरी कार्यालयहरु निर्माण सम्पन्न हुने जिल्ला प्रहरी कार्यालयका डीएसपी विमलराज कँणेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयसहित पाँच इलाका प्रहरी कार्यालय, पाँच अस्थायी प्रहरी पोष्ट र २१ प्रहरी चौकीसहित सिन्धुपाल्चोकमा विभिन्न स्थानमा गरी ३१ प्रहरी युनिटहरु छन् । साढे ५ सय प्रहरीहरु कार्यालयहरु भूकम्पपछि अस्थायी टहरो र प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पालबाट सञ्चालन भएका थिए ।

चिसो मौसम र वर्षामा समेत अस्थायी संरचनामा बस्दा प्रहरीलाई समस्या भएपनि भवन निर्माण भएपछि भने त्यो सबै समस्याबाट मुक्ति पाएको जिल्ला प्रहरी प्रमुख एसपी मरासिनीले जानकारी दिए । अस्थायी संरचनामा बस्दा धेरै प्रहरीहरु विरामी भएका र हातहतियारको सुरक्षा गर्न समेत प्रहरीहरुलाई समस्या भएको डीएसपी कँणेलले बताए ।

प्रहरी प्रधान कार्यालयको समन्वयमा पुनर्निर्माण प्राधिकरणले भूकम्पमा भत्किएका प्रहरी चौकीहरु निर्माणका लागि बजेट दिएको थियो । ३१ प्रहरी कार्यालयमध्ये जग्गा भएका जिप्रकासहित १७ प्रहरी कार्यालय निर्माणका लागि प्राधिकरणले २२ करोड रुपैयाँ पठाएको थियो । अन्य प्रहरी कार्यालय निर्माणका लागि प्राधिकरणले बजेट पठाए पनि जग्गा अभावमा बजेट फिर्ता भएको डीएसपी कँणेलले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *