Uncategorized

चिनियाँ सरकारद्वारा नेपाली प्राध्यापक झा पुरस्कृत

२० कात्तिक, काठमाडौँ । चीनको सियान सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ पुरस्कार प्रदान गरेको छ । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा डा झासहित विभिन्न नौ देशका १० जना विशिष्ट युवा वैज्ञानिकसहितका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो ।

करीब दुई महीना अघि घोषणा गरिएको सो पुरस्कार साङ्सी प्रान्तको सियान शहरमा मङ्गलबार आयोजित एक समारोहमा उक्त प्रान्तका गभर्नर लु जियानले हस्तान्तरण गर्नुभएको डा झाले जानकारी दिनुभयो । उक्त पुरस्कार प्राप्त गर्नेमा नेपालका झासहित जर्मनी, मलेसिया, क्यानाडा, ब्राजिल, अमेरिका, जापान, यमन र क्रोएसियाका १० जना युवा वैज्ञानिक र विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्व रहेका छन् । जापानबाट दुई जना विशेषज्ञ परेका छन् ।

चीनको ऐतिहासिक शहर सियानमा रहेर चीनको आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा विशेष योगदान पु¥याउने विभिन्न क्षेत्रका प्रतिभाशाली विदेशी व्यक्तित्वलाई सियान सरकारले प्रतिष्पर्धाका आधारमा हरेक दुई वर्षमा यो पुरस्कार प्रदान गर्ने गर्दछ ।

उक्त पुरस्कार ५० हजार आरएमबी (चिनियाँ रकम) राशिसहितको छ । सन् २००९ देखि प्रत्येक दुई वर्षमा सियान सरकारले प्रदान गर्दै आएको सो पुरस्कार प्राप्त गर्ने डा झा पहिलो नेपाली हुनुहुन्छ ।

सियानमा रहेका विदेशी प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका करीब १० हजार व्यक्तित्वमध्येबाट सन् २०१८ का लागि १० जना छनोट गरिएको प्राध्यापक झाले जानकारी दिनुभयो ।

पित्तथैलीको क्यान्सरको फैलावटको दरलाई कमगर्ने विषयमा चिनियाँ विश्वविद्यालबाट विद्यावारिधि पूरा गरी सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा डा झाको नाममा सियान प्रान्तीय सरकारले चार वर्षअघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा स्थापना गरेको छ ।

सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदान प्रदान पनि हुने गरेको छ । प्राध्यापक झा करीब २२ वर्षदेखि चीन बस्दै आउनुभएको छ ।

चीनका विभिन्न विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’ समेत रहेका प्रा डा झालाई साङ्सी प्रान्तले चीन नेपाल सम्बन्धको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै केही महीना अघि नागरिक दूत नियुक्त गरेको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *