१५ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरापालिकाको मुख्य सडकमा जथाभावी पशु चौपाया देख्नुभएको होला ।
वीरगञ्ज बस्दा रातमा कुकुर भुकेको, रोएको र कति पटक त तपाईलाई झम्टेको पनि होला । तर, अब वीरगञ्ज आउनेले त्यस्ता कुराको सामना गर्न पर्ने छैन ।
किनकी वीरगञ्ज महानगरपालिकालाई ४ वर्षमा जनवारमैत्री नगरपालिका बनाउने योजना अघि सारिएको छ । त्यसका लागि गृहकार्य सुरु गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।
विशेषगरी वीरगञ्ज महानगरपालिकामा गाई, साँढे, घोडा, गधा, सुँगुरलगायतका छाडा पशु चौपाया र छाडा कुकुरका कारण विविध समस्या छ ।
छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढ्नुको साथै सहरको सुन्दरतामा ह्रास आइरहेको छ भने छाडा कुकुरले समय समयमा मानिसलाई टोक्ने गरेको छ ।
नगरवासी रेबिज संक्रमणको जोखिममा छन् । त्यसलाई नियन्त्रण गरेर महानगरपालिकालाई जनावरमैत्री नगर बनाईने वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।
‘वीरगञ्जमा छाडा पशु चौपाया र छाडा कुकुरको बिगबिगी छ । मार्नु उचित हुँदैन, उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘त्यसका लागि छुट्टै वजेट विनियोजन त गरेका छैनौं तर पशु सम्बन्धि कार्यक्रमका लागि छुट्याएको रकमलाई रकमान्तर गरेर भएपनि नियन्त्रण गर्छौ ।’
व्यवस्थित वीरगञ्ज अभियान अन्र्तगत छाडा पशु चौपाया नियन्त्रणको काम भइरहेको छ ।
नगर क्षेत्रमा छाडा छोडेका पशु चौपाया नियन्त्रणमा लिएर आदर्शनगरमा निर्माण गरिएको अस्थायी पशु चौपाया संकलन केन्द्र -काञ्जी हाउस)मा राखिन्छ ।
महानगरपालिकाले पशुचौपायाधनीलाई जरीवाना तिरेर मात्रै छोड्ने गरिएको छ ।
एकसाता यता २५ भन्दा बढी पशु चौपाया नियन्त्रणमा लिईसकेको व्यवस्थित वीरगञ्ज अभियानका सह संयोजक प्रकाश खेतानले जानकारी दिए ।
‘छाडा पशु चौपाया नियन्त्रण नभएसम्म पक्राउ गरी जरीवाना लिने काम निरन्तर सञ्चालन भईरहेको छ,’ उनले भने, ‘हाम्रो वीरगञ्जमा हामीले नगरे कसले गर्ने ? भनेर अभियान थालेका छौं ।’
यसरी गरिनेछ कुकुर नियन्त्रण
छाडा कुकुर नियन्त्रणका लागि भने वीरगञ्ज महानगरपालिकाले स्नेहाज केयर ललितपुरसँग सहकार्य गर्ने तयारी गरिरहेको छ ।
कुकुरको गणना गर्ने, नश्लबन्दी गर्ने लगायतका प्राविधिक कामका लागि संस्थासँग सहकार्य गर्ने तयारी भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भुषालले बताए ।
‘हामीले कुकुर नियन्त्रणका लागि यस्तै काम गरिरहेको संस्थासँग सहकार्य गर्ने तयारी गरिरहेका छौं, उहाँहरु सकारात्मक हुनुुुहुन्छ ।’ अधिकृत भुषालले भने, ‘त्यसबाट कुकुरको संख्या बढ्नबाट रोकिनेछ । उमेर पुगेका कुकुरहरुको मृत्यु हुँदै जान्छ र कुकुर नियन्त्रणमा आउनेछ ।’
वीरगञ्ज महानगरपालिकाको ३२ वडामा २ हजारदेखि २५ सय छाडा कुकुर रहेको अनुमान गरिएको छ ।
स्नेहाज केयर संस्थाले महानगरपालिकाको ६० प्रतिशत र संस्थाको ४० प्रतिशत लागतमा कार्यक्रम सञ्चालन गर्नेगरि प्रपोजल पेश गरेको छ । जसमा एक हजार कुकुर नियन्त्रणका लागि प्रशासनिक खर्च समेत गरेर ४९ लाख २४ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
स्नेहाज केयर संस्थाका कार्यकारी निर्देशक कपिल काफ्लेका अनुसार कुकुर नियन्त्रणका लागि वैज्ञानिक र जीव जन्तुको अधिकार समेत हनन नहुने हिसाबले काम हुने बताए ।
‘तराईका जिल्लामा जंगल नजिकै भएकोले स्याल, व्वाँसो लगायतका जंगली जनावरबीच मुठभेड भइरहेको हुन सक्छ, जसका कारण रेबिज रोगको संक्रमणको जोखिम बढी छ,’ उनले भने, ‘त्यसकारण एनिमल वर्थ कन्ट्रोल प्रोग्राम फाइदाजनक हुन सक्छ । नगरको सरसफाई, कुकुर नियन्त्रण, भ्याक्सिनेसन र अवारनेसका कामहरुसँगै हुनुपर्छ ।’
कार्यक्रममार्फत कुकुरको गणना गर्ने, नश्लबन्दी गर्ने, मास एन्टी रेबिज भ्याक्सिनेसनका कार्यहरु गरिने जानकारी उनले दिए ।
कुकुरको संख्या बढ्न नदिएपछि प्राकृत्तिक मृत्युबाट कुकुरको संख्या घट्दै जाने उनको दावी छ । ‘४ वर्षमा हामी वीरगञ्ज महानगरपालिकालाई एनीमल फ्रेन्डली महानगर बनाउँछौं,’ काफ्लेले भने ।



