Uncategorized

बजेट अभावले रोल्पाको जेष्ठ नागरिक सेवा केन्द्र बन्द

१३ कात्तिक, रोल्पा । आफ्नै उमेरका दौतरी जमघट भई अतीतका अनुभव आदानप्रदान गर्ने जेष्ठ नागरिक दिवा सेवा केन्द्र बजेट अभावले बन्द भएपछि यहाँका जेष्ठ नागरिक चिन्तित बनेका छन् ।

रोल्पा नगरपालिका–४ मा स्थापना भएको उक्त सेवा केन्द्रमा बजार क्षेत्रका ज्येष्ठ नागरिक जमघट भई दुःख-सुख आदानप्रदान गर्ने चौतारी बन्दै आएको थियो । चालु आर्थिक वर्षदेखि बजेट अभावले सेवा बन्द भएपछि ज्येष्ठ नागरिकलाई दैनिकी बिताउन समस्या परिरहेको छ ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले महिला तथा बालबालिका कार्यालयमार्फत ज्येष्ठ नागरिक जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएपछि सेवा केन्द्र सञ्चालन हुँदै आएको थियो ।

राज्यको पुनःसंरचनासँगै जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालय हटेसँगै उक्त शीर्षकमा आउने बजेटसमेत कटौती हुँदा सेवा केन्द्र सञ्चालन हुननसकेको बताइएको छ ।

‘अघिल्लो वर्ष सरकारले उपलब्ध गराएको बजेटबाट व्यवस्थित ढङ्गले सेवा केन्द्र सञ्चालन गरिएको थियो,’ ज्येष्ठ नागरिक जिल्ला संघ रोल्पाका अध्यक्ष तेजराज आचार्यले भने, ‘बजेट उपलब्ध नभएपछि घरमा निःशुल्क कोठा उपलब्ध गराएर सेवालाई निरन्तरता दिएको छु ।’

स्थानीय सरकारले बजेट उपलब्ध गराए पुनः पायकपर्ने स्थानमा ज्येष्ठ नागरिकमैत्री संरचनामा सेवा केन्द्र सञ्चालन गर्न सकिने अध्यक्ष आचार्यले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *